बाग्मतीमा आर्थिक सर्वेक्षण : आय र खर्च बढ्दो

जेष्ठ ३२, २०८०

बाग्मती प्रदेश सरकार स्थापनाको पाँच वर्षको अवधिमा आम्दानी र खर्च बर्सेनि बढ्दै गएको पाइएको छ । प्रदेश सरकारले आज प्रदेशसभामा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो वर्षको तुलनामा आय ४३ दशमलव १३ प्रतिशत र खर्च ३५ दशमलव ३५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष ०७७/०७८ मा अघिल्लो वर्षको तुलनामा आय २७ दशमलव ८ र खर्च २७ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै, आर्थिक वर्ष ०७८/७९ मा आय १८ दशमलव ७ प्रतिशत र खर्च ६ दशमलव ७३ प्रतिशतले वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन २ हजार ४ सय ५५ अमेरिकी डलर रहने र प्रदेशको उत्पादन वृद्धिदर १ दशमलव ८ प्रतिशत कायम रहने अनुमान गरिएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाका अनुसार गत फागुन सम्ममा प्रदेशमा लघु, घरेलु तथा साना उद्योगको संख्या ६ हजार १ सय २६ रहेको छ भने सोही अवधिमा ४ हजार ६ सय ५८ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ ।


प्रतिक्रिया