नेपाल र जापानको निजी क्षेत्रबीच साना तथा मझौला उद्योगमा सहकार्य गर्ने सहमति

मंसिर १५, २०८० | काठमाडौं

साना तथा मझौला उद्योग प्रवर्धनका लागि काम गर्दै आएका नेपाल र जापानको निजी क्षेत्रबीच व्यवसायिक साझोदारी एवं लगानी प्रवर्धन गर्ने सम्बन्धमा उच्चस्तरीय सहमति भएको छ । 

नेपाल एओट्स अल्मुनाई सोसाईटी र जापानको इन्टरनेशनल कोअपरोशन अर्गनाईजेशन फर स्मल एण्ड मिडियम इन्टरप्राईजेज इन एसिया आईकोसाबीच साना तथा मध्यम खाले उद्योगी व्यवसायीबीच सिकाई आदानप्रदान, व्यवसायिक साझेदारी, सो क्षेत्रमा देखा परेका चुनौतीहरुको अध्ययन अनुसन्धान लगायतका विषयमा सहकार्य गर्ने समझदारी भएको हो । 

सम्झौतापत्रमा नेपाल एओट्सका अध्यक्ष प्रशान्तलाल श्रेष्ठ र आईकोसाका तर्फबाट अध्यक्ष कुरोसे नाओहिरोले हस्ताक्षर गर्नुभयो । नेपाल एओट्स र आईकोसाबीच साना तथा मध्यमखाले उद्योगी व्यवसायीलाई दुवै देशमा सिकाई एवं अनुभव आदान प्रदान गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै दुवै देशका निजी क्षेत्रबीच व्यवसायिक साझोदारी गर्ने र साना तथा मझौला उद्योगका क्षेत्रमा देखिएका चुनौतीबारे अध्ययन अनुसन्धान गर्ने विषयमा पनि सहमति भएको छ । कोभिड–१९ पछि विश्वव्यापी रुपमा नै सबैभन्दा बढी साना तथा मझौला उद्योग प्रभावित भएको सन्र्दभमा भएको सहमतिलाई निकै महत्वका साथ हेरिएको छ ।

आईकोसासँग भएको सहमति नेपालमा लगानी अभिवृद्धि, साना तथा मझौला उद्योगमा देखिएको चुनौतीको अन्त्य गर्नका लागि महत्वपूर्ण भएको एओट्सका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

दुई संस्थाबीच सहमति अघि मुलुकको विकासमा साना तथा मझौला उद्योगको भूमिका विषयक कार्यक्रममा आईकोसाका तर्फबाट प्राध्यापक डा. कुरोसे नाओहिरोले जापानको औद्योगिक विकास र रोजगारी सिर्जनामा साना तथा मझौला उद्योग एसएमीजको भूमिका बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एस्तै प्राध्यापक दिनेश चापागाँईले नेपालको व्यावसायिक वातारण र एसएमीजको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया