बिल काटिएका सबै उद्योगहरुबाट महशुल तत्काल उठाइन्छः कुलमान घिसिङ

पुस १२, २०८० | काठमाडौं

नेपाल विद्युत प्राधिकरणले मातहतका निकायबाट बिल काटिएका सबै उद्योगहरुबाट महशुल तत्काल उठाइने बताएको छ । 

डेडिकेटेड तथा ट्रंक लाइनको विद्युतको महशुल उठाउने तयारी भएपछि उद्योगी–व्यवसायिबाट विरोध भइरहेका बेला प्राधिकरणले सबै महशुल असुली गरिने बताएको हो । प्राधिकरणको केन्द्रिय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिल अनुसारको सम्पूर्ण रकम उठाउने तयारी भएको बताउनुभयो ।

विद्युत महशुल भुक्तानीका लागि पटक पटक ताकेता एवंम सार्वजनिक सूचना मार्फत अनुरोध गर्दै आएको प्राधीकरणले जनाएको छ । उद्योगी तथा व्यवसायीले प्राधिकराण्को ताकेता बेवास्ता गर्दै महशुल बुझाउन अस्वीकार गरेपछि विद्युत वितरण विनियमावली अनुसार विद्युत लाईन काट्दै आएको छ । बक्यौता रकम नतिर्ने उद्योगको बिजुली काट्नुको विकल्प नभएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका ६१ वटा उपभोक्ताको २०८० मंसिर मसान्तसम्म बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । तीमध्ये ९ उद्योगको मात्र करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता बाँकी छ । 


प्रतिक्रिया