नेपालमा भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्री गर्न रोक

जेष्ठ ४, २०८१ | काठमाडौं

नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो ।

हङकङ र सिंगापुरले ती मसलामा हानिकारक एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाइएसंगै विभागले तत्काललाई ४ प्रकारका मसलामा रोक लगाएको जनाएको छ ।

विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

एमडीएचका सो मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ रहेको छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ ।

विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको छ । 


प्रतिक्रिया