चुनौती सामना गर्न तयार छु : बेलायती प्रधानमन्त्री

रेडियो कान्तिपुर संवाददाता

मंसिर २६, २०७५ | बीबीसी

बेलायती प्रधानमन्त्री टेरिजा मे ले आज विश्वासको मत प्रमणित गर्नुपर्ने भएको छ । ब्रेक्जिट सन्धि र त्यसविरुद्धको जनमतमा प्रधानमन्त्री मे को लोकप्रियता र विश्वसनियतामै प्रश्न उठेपछि उहाँले पार्टीभित्र नयाँ चुनौतीको सामना गर्नुपरेको हो ।

स्थानीय समय अनुसार आजै साँझ ६ बजेदेखि २ घण्टा मतदान हुने बीबीसीले जनाएको छ । मतदानको परिणाम केही घण्टामै सार्वजनिक हुने अपेक्षा गरिएको छ । 

यसैबीच, प्रधानमन्त्री मे ले आफू चुनौती सामना गर्न तयार रहेको प्रतिक्रिया दिनुभएको छ । पार्टीभित्र विश्वासको मत प्रमाणित गर्न असफल भए उहाँले प्रधानमन्त्री पद त्याग्नुपर्नेछ ।

तर, बेलायतको हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टी सबैभन्दा ठूलो भएकाले उसको नेतृत्वमा आउने व्यक्ति स्वत: प्रधानमन्त्रीमा चुनिने अवस्था छ । 

मेले पेश गरेको ब्रेक्जिट सम्बन्धी सम्झौता मस्यौदाको विपक्षमा उभिएका कन्जरभेटिभका ४८ जना सांसदले सो प्रस्तावलाई समर्थन गर्न नसकिने भन्दै मे समक्ष लिखित पत्र बुझाएका थिए ।

क्याविनेटका मन्त्री लगायत ४८ जनाले उहाँलाई पत्र पठाएको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया