कांग्रेसको १५औँ महाधिवेशन सुरु, नयाँ नेतृत्व चयनका लागि चारदिने मन्थन

आश्विन १८, २०८३ | काठमाडौं

नेपाली कंग्रेसको नियमित १५ औं महाधिवेशन संघीय राजधानी काठमाडौंमा शुरु भएको छ । विशेष महाधिवेशनको ९ महिनापछि पार्टीको आधिकारिकता विवाद कायमै रहेका बेला नयाँ कार्यसमिति चयनका लागि कंग्रेसको नियमित महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजित एक कार्यक्रमकाबीच आइतबार उद्घाटन गरियो ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन गरेको हो । विशेष महाधिवेशनलाई अस्वीकार गरेको पूर्वसभापति शेरबहादुर देउवा पक्ष अहिले पनि समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको छ । यद्यपि देउवा पक्षका केही नेता भने थापाको पक्षमा खुलेर सक्रिय भएका छन् । प्रमुख राजनीतिक दलका नेताहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कांग्रेस नेताहरूले लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा जनताका समस्याको समाधानतर्फ अबको राजनीति केन्द्रित हुनुपर्ने बताएका छन् । महामन्त्री गुरुराज घिमिरेले भने, “आज लोकतन्त्र सही बाटोमा हिँडिरहेको छ कि छैन? आज राजनीति सार्थक भइरहेको छ कि छैन? आज सर्वत्र प्रश्न उठिरहेको छ । यो प्रश्नको समुचित जवाफ खोज्ने दायित्व हामी सबैको हो । यदि यो प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने मलाई लाग्छ लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभिष्ट पनि पुरा हुन्छ ।”

लामो समयसम्म विभिन्न दलले सत्ता सञ्चालन गरे पनि जनताको निराशा हटाउन नसकेको घिमिरेले बताए । उनले भने, “हामीले राजनीतिलाई सार्थक बनाउन सकेनौँ, लोकतन्त्रलाई सार्थक बनाउन सकेनौँ भने हामीले जतिपटक जुनसुकै दर्जा लिए पनि, जतिपटक जतिसुकै अवसर प्राप्त गरे पनि त्यो अवसरको कुनै त्यसको सार्थकता रहँदैन, त्यसको अर्थ रहँदैन । कांग्रेस बन्यो, नेकपा बन्यो, एमाले बन्यो, सबै बन्यो तर जनताको मनमा जुन एउटा निराशा थियो, त्यसलाई हामीले चिर्न सकेनौँ।”

यस्तै उपसभापति पुष्पा भुसालले पार्टीको महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताइन् । जनतामाझ गुम्दै गएको विश्वास फर्काउन कांग्रेस गम्भीर हुनुपर्ने उनको भनाइ छ । “यो अधिवेशन एउटा भेला होइन। यो अधिवेशन चार सालदेखि लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको यो बोकेको राजनीतिक दलको यो वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने, थलोको रूपमा यो महाधिवेशन बन्न गइराखेको छ । यो महाधिवेशन केवल पदको लागि मात्रै, पदलाई व्यवस्थापन गर्नको लागि मात्र भइराखेको छैन । उनले भनिन्, यो महाधिवेशन लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा यो बन्नुपर्दछ । यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, हामीले यो ऐतिहासिक अवसरको रूपमा यो महाधिवेशनलाई लिन जरुरी छ ।”

राजनीतिप्रति बढ्दो वितृष्णाकाबीच युवा पंक्तिको बलियो उपस्थिति रहने अपेक्षा गरिएको कांग्रेस महाधिवेशन चार दिनसम्म चल्नेछ । अब बन्ने नयाँ कार्यसमितिले नयाँ पुस्तादेखि ३ वटै पुस्तालाई समेटेर लैजाने बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ बताउँछन् ।

“बुवा पुस्ता, अनि खेरि दाइ पुस्ता र भाइ पुस्ता— तीनवटा हामी पुस्ताको यो पार्टीभित्रको एउटा परम्परा र संस्कृति र हाम्रो एउटा पहिचान र एउटा इतिहासको गौरवले आज नेपाली कांग्रेसको यो १५ औँ महाधिवेशनले नयाँ दिशा दिएर यसलाई संसारभरिका विदेशी पाहुना पनि आउनुभएको छ । उनले भने, अब यो १५ औँ महाधिवेशन सम्पन्न भएपछि नेपालको राजनीतिमा नेपाली कांग्रेसले आफूले खेल्नुपर्ने भूमिका राम्रोसँग, सबैसँग मिल्दै अगाडि हिजो पनि बढ्यो, आज पनि बढ्छ, भोलि पनि...”

यसैबीच कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा भएको नयाँ नेतृत्व र युवा पुस्ताका लागि जिम्मेवारी लिने अवसर महाधिवेशनले दिलाएको बताए । कांग्रेस बदलेर बलियो नेतृत्व बनाउन सबै लागि पर्नुपर्ने उनको भनाइ छ । “८० वर्षको सभापतिबाट ५० वर्षको सभापतिमा कांग्रेस पुग्दै गर्दा आज देशभरिबाट आएका ३५ हजार भन्दा बढी प्रतिनिधिहरू युवा उमेरको आउनुभएको छ । म प्रत्येक युवा उमेरको ३५ वर्षमुनि आउनुभएका प्रत्येक साथीलाई अपिल र आग्रह गर्न चाहन्छु । यो तपाईंको लागि कांग्रेस काँधमा लिने यात्राको सुरुवात हो । उनले भने, यो तपाईंको लागि सिङ्गो देश जुरुक्कै तपाईंको काँधमा बोक्ने यात्राको सुरुवात हो । एउटा बलियो नेतृत्व गगन थापालाई सभापति बनाइराखेर विशेष महाधिवेशनबाट आएको कांग्रेस अब यो महाधिवेशनबाट नयाँ ऊर्जाका साथ अझै दृढताका साथ अघि बढ्नेछ ।”

यस पटकको महाधिवेशनमा नेतृत्व, प्रतिनिधित्व, छलफल र प्रचारशैलीमा नयाँ अभ्यास अपनाउने कांग्रेसले जनाएको छ । संशोधित विधानअनुसार युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्व बढाइएको छ भने ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व, केन्द्रीय कार्यसमितिमा २१ युवा सदस्य र कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यस्तै डिजिटल दस्तावेज, सुझाव अभिलेख, डिजिटल प्रचार, प्रदेशगत बन्दसत्र र हिमाल–पहाड–तराईमधेशमा छलफलको व्यवस्था छ । खर्चिलो प्रचार नियन्त्रण गर्दै औपचारिक प्यानल नबनाउने अभ्यासलाई पनि प्राथमिकता दिइएको छ । सोमबारबाट बन्दसत्र सुरु हुनेछ भने कांग्रेसले विधान समेत संशोधन गरेर पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ । 


प्रतिक्रिया