प्रतिनिधिको आशाः सबल नेतृत्व र परिष्कृत कांग्रेस अबको भरोसा

आश्विन १९, २०८३ | काठमाडौं

गत पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत बन्द सत्र शुरु भएको छ । देशभरबाट सौयौंको संख्यामा सहभागी नेता कार्यकताले पार्टीलाई थप परिस्कृत र बलियो बनाउनका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । देशभर र प्रवासबाट सयौंको संख्यामा काठमाडौं आइपुगेका नेता कार्यकता महाधिवेशनमा सहभागी छन् । पार्टीलाई थप परिस्कृत र बलियो बनाउनका लागि सबल नेतृत्व नेतृत्व चयन गर्नुपर्ने उनीहरुको बुझाइ छ ।

पार्टीभित्रको आन्तरीक विवादका बीच पूर्व सभापति शेरबहादुर देउवा पक्षधर नेता कार्यकर्ताको अनुपस्थिति भएपनि कांग्रेसको महाधिवेशन नयाँ कार्यसमिति चयनका लागि अघि बढेको छ । अब आउने नयाँ नेतृत्वले राजनीतिलाई “फोहोरी खेल“ भन्ने भाष्य चिरेर यसैमार्फत जनजीविकामा परिवर्तन ल्याउने विश्वास दिलाउन सक्नुपर्ने महाधिवेशन प्रतिनिधिहरु बताउँछन् । पर्वतबाट महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौं आएका सुनिल शर्माले भने, “खाली राजनीतिलाई फोहोर खेल मात्र भन्ने परिपाटीबाट निकालेर राजनीतिले नै यो देशको परिवर्तन र जनताको यो जनजीविकामा परिवर्तन ल्याउन सक्छ भन्ने चाहीँ विश्वास दिलाउन सक्ने हामीले नेतृत्वको खोजीमा छौँ। जुन चाहीँ उम्मेदवारहरू जनताले विश्वास गर्न सक्ने, जनतामा दाग नलागेको उम्मेदवारहरू र जनतालाई चाहीँ विश्वास गर्न सक्ने उम्मेदवारहरू प्रस्तुत गर्नेछौँ। ती उम्मेदवारहरूलाई हामीले जिताएर ल्याउनेछौँ।” 

देउवा पक्षले महाधिवेशनमा सहभागी हुन असहमति जनाइरहेको विषयबारे उनले भने, “यसमा मूलधार भनेको यही हो। सानेपा जहाँ छ, हामी त्यहीँ हो । यो चाहीँ अहिले हामीसँग नै छ । यसमा कोही साथीहरू फरक विचार राखेर बाहिर बस्ने, कहिलेकाहीँ अब महाधिवेशनमा भाग नलिने, नआउने भन्ने यो सामान्य कुरा नै हो । तर उहाँहरू पनि अन्तिममा चाहीँ के हो भने पार्टी मूल घर यही हो, उहाँहरू यसमा आउनुहुनेछ, सामेल हुनुहुनेछ । यसमा उहाँहरूलाई सँगै हातेमालो गरेर, उहाँहरूलाई लिएर हिँड्न चाहीँ हामी तयार हुन्छौँ।”

कांग्रेकै देउवा पक्षले महाधिवेशनका लागि विरोध जनाइरहे पनि खुल्लामञ्चमा भेटिने अधिकांश प्रतिनिधि भने सो पक्षले अभिभावक बनेर नयाँ नेतृत्वलाई सघाउनुपर्ने बताउँछन् । कतिपय प्रतिनिधि भने देउवा पक्षको कार्यशैली र गरिरहेको समानान्तर गतिविधिप्रति आक्रोशीत देखिएका छन् । महाधिवेशन स्थलमा भेटिएकी मोरङकी कांग्रेस प्रतिनिधि कौशल्या मण्डलले भनिन्, “के सोच्नुभाछ थाहा छैन । उहाँहरूदेउवा पक्ष) जस्तो हामीले त उहाँलाई अभिभावक मानेको, उहाँहरू चाहीँ आफैँ एउटा सल्लाहकार भएर बसिदिनुपर्ने । उहाँहरू पक्कै हाम्रो पार्टीप्रधिलाई राम्रो मान्नुभएको छैन । शेरबहादुर देउवा चाहीँ लाग्छ हाम्रो विचारमा, पक्कै बीपी विचारको मान्छे होइन । हाम्रो गाउँ–गाउँ, टोल–टोल, घर–घरमा जाने एजेण्डा छ । हामी यहाँबाट गएपछि हरेक नागरिकको, हरेक जनताको, हरेकको घरमा गएर जनतालाई जागरूक बनाउँछौँ, सक्रिय बनाउँछौँ ।”

कांग्रेसको यो महाधिवेशनमा युवा पंक्तिलाई तुलनात्मक रुपमा पहिले भन्दा बढी मात्रामा सहभागी गराइएको छ भने ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व, केन्द्रीय कार्यसमितिमा २१ युवा सदस्य र कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ । सोही अनुसार विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । कतिपय प्रनिधिहरु भने पार्टीको केन्द्रीय तहबाटै हस्तक्षेपको तयारी सहित आन्तरीक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

पाल्पाबाट प्रतिनिधि बनेर केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेका शम्भु रेग्मी आगामी दिनमा पार्टीलाई बलियो बनाउनका लागि आफू केन्द्रिय तहमा आउन खोजेको बताउँछन् । “जेन–जी आन्दोलनपछि जुन देश परिवर्तन भएको छ, यो परिवर्तनको आकाङ्क्षालाई चाहीँ सम्बोधन गर्न सक्ने नेपाली काङ्ग्रेस बनाउने खालको चाहीँ नेपाली काङ्ग्रेसलाई रुपान्तरण गर्नुपर्ने अहिले हाम्रो बाध्यता छ र यही समयको माग पनि हो । एउटा चुनाव हार्दैमा केही पनि फरक पर्दैन । नेपाली काङ्ग्रेसको जुन मोटो छ, जुन चाहीँ गोल छ, त्योबाट हामी चाहीँ तलमाथि भएकै कारणले गर्दा आज हाम्रो यो अवस्था आइपुगेको हो ।” उनले भने, “म प्राविधिक फिल्डको भएको कारणले गर्दाखेरि मेरो प्राविधिक फिल्डमा धेरै पनि समस्या छ । विकास निर्माणमा पनि हामी हाम्रो देश निकै नै पछाडि छ । त्यो सबै मुद्दाहरूलाई सम्बोधन गर्नको लागि म तल्लो लेभलमा काम गर्दै आए पनि अब चाहीँ माथिल्लो लेभलमै हस्तक्षेप गर्नुपर्छ भन्ने कारणले गर्दा चाहीँ मेरो उम्मेदवारी हो ।”

गत वर्ष भएको जेनजी आन्दोलनको प्रभाव स्वरुप अहिले राजनीति प्रति युवा पुस्ताको पनि आकार्षण देखिएको छ । मेरङ क्षेत्र नम्बर ५ बाट नयाँ नेतृत्व चयनका लागि काठमाडौं आइपुगेकी महाधिवेशन प्रतिनिधि रुबि कुमारी राय जेनजी आन्दोलनकै कारण यहाँसम्म आइपुगेको बताउँछिन् । आगामी नेतृत्व कस्तो हुनुपर्छ भन्ने प्रश्नमा युवा प्रतिनिधि रायले भनिन्, “म २३ वर्षको उमेरमा क्षेत्र प्रतिनिधि बनेर आएको हो । हामीले चाहेको नेतृत्व चाहीँ अब राम्रो विकास होस्, हाम्रो जेन–जी आन्दोलनले गर्दाखेरि हामीले पनि पाएको मौका पाएको छौं ।” उनले भनिन्, “अब त्यसलाई चाहीँ अलिक जेको लागि हामी लडेको हो, त्यो कुरा चाहीँ पाउँ भन्ने उद्देश्य छ ।”

देशैभरका स्थानीय निकायमा नेपाली कांग्रेसको युवा नेतृत्व स्थापित गर्ने उद्देश्यले महाधिवेशन भइरहेको कतिपय प्रतिनिधिहरु बताउँछन् । जेनजी र नयाँ पुस्ताबीच देखिएको राजनीतिक लहरे लहर स्थायी नहुने र तराईका जनता र सीमावर्ती क्षेत्रका वास्तविक समस्याको समाधान नहुने उनीहरु बताउँछन् ।

हरेक स्थानीय निकायमा नेपाली कांग्रेसको युवा नेतृत्व स्थापित गर्न महाधिवेशन केन्द्रीत भएको धनुषा ३ का क्षेत्रिय प्रतिनिधि सुजितकुमार यादवले बताए । “आउँदो जुन स्थानीय निकायको चुनाव छ, प्रदेशको चुनाव छ, त्यो चुनावमा नेपाली काङ्ग्रेसले ७७ वटै जिल्ला, जति देशभरिको सम्पूर्ण स्थानीय निकायमा नेपाली काङ्ग्रेसको युवाको नेतृत्व हुन्छ र त्यसमा सबभन्दा बढी सिट आउने उद्देश्यले हाम्रो चाहीँ यहाँ केन्द्रीय महाधिवेशन भइरहेको छ ।” उनले भने, “अब चाहीँ यो कुनै हावाहुरी चलेको छ के, अचानक यो जेन–जीको नाउँमा चाहीँ यो देशलाई कब्जा गरेको छ, तर त्यस्तो अब हुँदैन । मान्छे नबुझिकन चाहीँ त्यो मत खसाएको हो। अनि अब सबै जनताले बुझिसकेको छ, खासगरी तराईको जनताले बोर्डरमा समस्या झेल्नुभएको छ ।”

आन्तरिक मतभेद र असन्तुष्टिका बीच सुरु भएको यो महाधिवेशनबाट नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले ठूलो आशा र भरोसा राखेका छन् । पुराना नेतृत्वलाई अभिभावकको रूपमा सम्मान गर्दै नयाँ र ऊर्जावान् युवा पुस्तालाई अघि बढाउनुपर्ने, सिद्धान्तमा दृढ रहनुपर्ने र नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने सन्देश महाधिवेशन प्रतिनिधिहरूले दिएका छन् । नयाँ नेतृत्वले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै, तल्लो तहका वास्तविक समस्याहरूलाई सम्बोधन गरेर आगामी स्थानीय तथा प्रदेश चुनावमा कांग्रेसलाई भरोसायोग्य शक्तिका रूपमा स्थापित गर्नुपर्ने चुनौती छ । 


प्रतिक्रिया