उत्तर कोरियाका १ करोड सर्वसाधारण खाद्य संकटमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७६ | बीबीसी

उत्तर कोरियामा गम्भीर खडेरीका कारण १ करोड सर्वसाधारण खाद्य संकटमा परेका छन् । पछिल्लो ३७ वर्षकै गम्भीर संकट देखिएको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उत्तर कोरियाली नागरिक प्रति दिन ३ सय ग्राम खाना खाएर बाँचीरहेको प्रतिवेदनमा उल्लेख छ ।

खडेरी सँगै आधुनिक कृषि प्रविधिको अभावका कारण समेत कृषि उत्पादनमा असर परेको हो । यद्यपि, उत्तर कोरियाका तथ्यांक यकिन हुन नसकेकाले वास्तविक अवस्थाको आंकलन गर्न नसकिएको बीबीसीले उल्लेख गरेकोछ ।

राष्ट्रसंघको प्रतिवेदनलाई आधार मान्ने हो भने उत्तर कोरियामा १५ लाख टन खाद्यान्नको अभाव छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले पछिल्लो ५ महिनामा ५४ दशमलभ ४ मिलिमिटर वर्षा भएको उल्लेख गरेको छ । जुन सन् १९८२ यताकै कम हो ।

सन् २०१८ मा समेत विगत दश वर्षकै कम कृषि उत्पादन भएकाले उत्तर कोरियामा खाद्य संकट देखा परेको हो । यसअघि सन् १९९० को अनिकालमा लाखौं उत्तर कोरियालीले ज्यान गुमाएका थिए । 


प्रतिक्रिया