अष्ट्रेलियामा आमनिर्वाचन सम्पन्न, मतगणना जारी

जेष्ठ ४, २०७६ | अष्ट्रेलिया

- अष्ट्रेलियामा आमनिर्वाचन सम्पन्न भएको छ । हरेक तीन बर्षमा हुने निर्वाचनको मतगणना भइरहेको भएपनि अहिलेसम्म जारी मतगणनाले सत्तारुढ लिबरल कोअलिसनले सरकार बनाउने सम्भावना देखिएको छ । 

१ सय ५० प्रतिनिधीसभा सदस्य र ७६ माथिल्लो सदन सिनेट सदस्यका लागि भएको आमनिर्वाचन करिब १ महिनाअघि देखि नै शुरु गरिएको थियो । मतदानस्थलमा चुनाव घोषणा भएको दिन मतदान गर्न नसक्नेहरुका लागि केही सातापहिल्यै देखि देशैभरि दर्जनौको संख्यामा प्रि पोल मतदानको ब्यवस्था गरिएको थियो भने हुलाकबाट समेत मतदाको ब्यवस्था गरिएको थियो ।

प्रि पोल मतदानमा ४० लाखबढीले मतदान गरेका थिए भने हुलाकबाट १५ लाखले मतदान गरेका थिए । आज भएको निर्वाचनमा करिब १२ लाखले मतदान गरेको बताइएको छ । बहुमत ल्याउनका लागि ७६ सिटको आवश्यक्ता पर्नेमा अहिलेसम्मको नतिजामा लिबरलले ७४ स्थानमा अग्रता बनाएको छ भने विपक्षी दल लेबरले ६५ सिटमा अग्रता लिएको छ । 

अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री टोनी अबटले करिब डेढ दशकदेखि जित हासिल गर्दै आएको निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारसँग हार ब्योहोरेका छन  । निर्वाचनमा अन्य उच्चनेताहरुले भने जित हासिल गरेका छन् । निर्वाचनबाट विपक्षी दल लेबरले बहुमत ल्याउने सर्वेक्षणहरुले देखाएको भएपनि नतिजा त्यसको विपरित देखिएको छ । 

 


प्रतिक्रिया