चीनद्वारा अमेरिकी सेनालाई हङकङ भ्रमणमा रोक

मंसिर १६, २०७६

चीनले अमेरिकी सेनालाई हङकङको भ्रमण गर्न रोक लगाएको छ । यस्तै, अमेरिकाका केही गैरसरकारी संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ । अमेरिकाको सैन्य भ्रमणका लागि गरिने आवेदन लिन तत्कालका लागि स्थगित गरिएको चीनले जनाएको हो ।

हङकङका अतिवादी, हिंसामा संलग्न र आपराधिक क्रियाकलाप गर्नेलाई उक्साउने अमेरिकी संस्थामाथि पनि प्रतिबन्ध लगाइएको चीनको विदेश मन्त्रालयले उल्लेख गरेको छ । अमेरिकाले गत साता हङकङको प्रदर्शनलाई सघाउ पुर्‍याउने किसिमको विधेयक ल्याएपछि चीनले पछिल्लो कदम चालेको हो । अमेरिकाले आफ्नो रवैया नसुधारे आगामी दिनमा थप कडा कदम चाल्ने चेतावनी चीनले दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, 'गल्ती सच्याउन र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न हामी अमेरिकालाई आग्रह गर्दछौं, अन्यथा हङकङको स्थिरता र समृद्धि तथा चीनको सार्वभौमिकताको रक्षाका लागि हामी थप कदम चाल्न बाध्य हुनेछौं ।'

हङकङ मामिलाका कारण दुई देशबीचको व्यापार युद्ध थप चर्कने आशंका गरिएको रोयटर्सले उल्लेख गरेको छ । 


प्रतिक्रिया