निर्भया बलात्कार काण्डका ४ जना दोषीलाई फाँसी

चैत्र ७, २०७६ | दिल्ली

निर्भया बलात्कार काण्डका ४ जना दोषीलाई आज बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् । सन् २०१२ को डिसेम्बर १६, मा साथीसँग बसमा हिँडिरहेका बेला २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई उपचारका लागि सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो ।

निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । निर्भया बलात्कारण काण्ड र हत्याकाण्डका दोषीहरुलाई फाँसीबाट बचाउनका लागि दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो । 

दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए । दिल्ली हाईकोर्टले याचिका खारेज गरेपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो ।

 यसअघि पनि उनीहरुले विभिन्न समयमा कानुनी अधिकारको प्रयोग गर्दै अदालतको ढोकामा पुगेका थिए । यसअघि राष्ट्रपति रामनाथ कोविन्दकोमा सजाय माफका दया याचिका पठाएको भन्दै अदालतले मार्च २ मा फाँसीमा रोक लगाएको थियो । उनीहरुलाई मार्च ३ मा फाँसी दिइँदै थिइयो तर अदालतले मार्च ५ मा चौथो पटक मृत्युदण्ड दिइने मिति तय गरेको थियो ।


प्रतिक्रिया