इटलीमा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

चैत्र ७, २०७६

– विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । २ लाख ४४ हजार बढीमा संक्रमण पुष्टी भएको छ । जसमध्ये ८६ हजार जना निको भएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । इटलीमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ, जुन चीनमा भन्दा बढी हो । भाइरस उत्पति भएको चीनमा संक्रमणबाट हालसम्म ३ हजार २ सय ४५ जनाको मृत्यु भएको छ । इटलीमा संक्रमितको संख्या ४१ हजार पुगेको छ । इरान र स्पेनमा १८ हजार बढी संक्रमित छन् । यस्तै, जर्मनीमा १५ हजार, अमेरिकामा १४ हजार, फ्रान्समा ११ हजार र दक्षिण कोरियामा साढे ८ हजार बढीमा संक्रमण पुष्टी भएको छ ।

संक्रमण नियन्त्रणको प्रयासस्वरुप इटलीमा गरिएको लकडाउनको समय अनिश्चितकालका लागि बढाईएको छ । अर्जेन्टिनाले पनि लकडाउन गरेको छ । यस्तै, अमेरिकाको क्यालिफोर्निया राज्यलाई लकडाउन गरिएको छ । फिलिपिन्सले विदेशीहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भानुआतुमा पहिलो पटक संक्रमण फेला परेको छ । पाकिस्तानमा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या ५९ पुगेपछि सरकारले आज साँझबाट सोमबार विहान ६ बजेसम्मका लागि कर्फयू आदेश जारी गरेको छ ।

यसैबीच, रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षण शुरु गरेको छ । रुसी बैज्ञानिकहरुले साईबेरियास्थित ल्याबमा नोबेल कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण थालेको त्यहाँको उपभोक्ता स्वास्थ्य नियामक संस्थाले जनाएको छ । ६ वटा फरक प्रविधिहरुको प्रयोग गरी भ्याक्सिन तयार पारिएको हो । रुसमा हालसम्म १ सय ९९ जनामा संक्रमण पुष्टी भइसकेको छ । १ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया