अष्ट्रेलियाको प्रतिरक्षा बजेटमा १९० अर्ब डलर थप गर्ने घोषणा

असार १७, २०७७

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा १ सय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गर्ने घोषणा गर्नुभएको छ । 

सीमा रक्षाका लागि व्यवस्था गर्न लागिएको थप बजेटबाट लामो दूरीका क्षेप्यास्त्र समेतका अत्यधुनिक हातहतियारको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री मोरिसनले कोरोना कहर सकिएपछि विश्व अझ डरलाग्दो अवस्थामा पुग्ने चेतावनी समेत दिनुभयो । 

आगामी दिनमा अष्ट्रेलियाको सार्वभौमसत्ता र अखण्डता सुरक्षित एवं सुदृढ गर्न अमेरिका समेतका परम्परागत मित्र राष्ट्रसँगको सम्बन्धलाई अझ प्रगाढ बनाइने उहाँको भनाई छ । 

अहिलेको जस्तो आर्थिक विषमता दोस्रो विश्वयुद्ध पछिकै भयावह भएको उहाँको भनाई छ । 

यसैबीच, अष्ट्रेलियाको मेलवर्नमा कोभिड–१९ संक्रमित देखिन थालेपछि अष्ट्रेलियाले त्यहाँ लकडाउन गर्ने भएको छ । 

करीब ३ लाख जनसंख्या रहेको सो स्थानमा संक्रमण फैलन नदिन एक महिनाका लागि लकडाउन गर्न लागिएको सरकारी अधिकारीलाई उद्दृत गर्दै अलजजिराले जनाएको छ ।

त्यहाँ हालसम्म ७ हजार ९ सय २० जनामा संक्रमण पुष्टि हुँदा १ सय ४ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा ८४ जनामा संक्रमण देखिएको छ । यद्यपि, कोरोना संक्रमण फैलिएका मुलक मध्ये प्रभावकारी नियन्त्रण गर्नेको सूचीमा अष्ट्ेरलिया पनि छ । 


प्रतिक्रिया