४ सय तालिवानी लडाकू रिहा गर्न अफगानिस्तान सहमत

श्रावण २५, २०७७ | काठमाडौं

अफगानिस्तानले ४ सय तालिवानी लडाकू रिहा गर्न सहमति जनाएको छ । तालिवानसँग शान्ति सम्झौताको चरणमा रहेको अफगानिस्तान आफ्नो नियन्त्रणमा रहेका तालिवानीलाई रिहा गर्न सहमत भएको हो ।

राष्ट्रपति असरफ घानीले तालिवानी लडाकूलाई रिहा गर्ने कार्यकारी आदेशमा आज हस्ताक्षर गर्ने बताउनुभएको रोयटर्सले उल्लेख गरेको छ । गत साता मात्रै घानीले ३ हजार २ सय भन्दा बढी अफगानी विज्ञ, जानकार एवं राजनीतिक व्यक्तित्वसँग कोरोना भाइरस कहरका बीच राष्ट्रिय सुरक्षाका सम्बन्धमा सुझाव लिनुभएको थियो । त्यही क्रममा जेलमा रहेका लडाकूलाई रिहा गर्नुपर्ने सुझाव जानकारहरुले दिएका थिए । शान्ति सम्झौताको पहिलो शर्तमा तालिवान संगठनले अफगानिस्तान सरकारले जेलमा रहेका तालिवान लडाकूहरुलाई जेलमुक्त गर्नुपर्ने बताएको थियो । सोही शर्तको कार्यान्वयन गर्दै अफगान सरकारले तालिवानी लडाकू रिहा गर्ने भएको हो ।

यसअघि राष्ट्रपति असरफ घानीले विभिन्न चरणमा गर्दै करीब ५ हजार तालिवानीलाई रिहा गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । अफगानिस्तानमा तालिवानविरुद्ध अमेरिकाले युद्ध थालेको १८ वर्षपछि गत फेब्रुअरी २९ मा ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 


प्रतिक्रिया