कृषि विधेयकको बिरोधमा भारतमा चक्काजाम

आश्विन ९, २०७७ | काठमाडौं

भारतका दुवै सदनले पारित गरेको कृषि विधेयकको बिरोध गर्दै त्यहाँको कृषक संगठनले आज देशभर चक्काजाम गरेको छ । सरकारले सो विधेयक किसानको हितमा रहेको र यसले आय बढाउनुका साथै उत्पादनको बजार थप बढाउने दाबी गरेको छ ।

 तर कृषकले भने व्यपारीलाई मात्रै फाइदा हुने गरी विधेयक आएको आरोप लगाएका छन् । सो विधेयकको बिरोधमा पञ्जाब र हरियाणमा सबैभन्दा ठूलो प्रदर्शन भइरहेको छ । बन्द र प्रदर्शनलाई ध्यानमा राखेर विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विधेयकमा भएको कृषि उपजसम्बन्धी नयाँ व्यवस्थाप्रति किसान संगठन र विपक्षीहरूको बढी आपत्ति रहेको छ । 

नयाँ विधेयकमा कृषकहरूले दर्ता भएका मन्डीबाहिर पनि आफूखुसी बेच्न पाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसले राज्यभित्र र बाहिर पनि किसानको उत्पादन बिक्रीको बाटो खुला गर्नेछ । यसले कृषकहरूका लागि लागत घटाउने र राम्रो मूल्य पाउने सम्भावना रहन्छ । तर, यसको विरोधमा रहेकाहरूले विधेयकमा गरिएको व्यवस्थाले राज्यहरूको मन्डीमार्फत हुने आम्दानी गुम्ने र अन्तत: किसानहरूले न्यूनतम मूल्य पनि नपाउने जिकिर गरेका छन् । 

साथै, नयाँ विधेयकले ठूलो कम्पनीहरूको वर्चस्व स्थापित गर्ने र त्यसले कालान्तरमा साना र गरिब किसानहरूलाई मर्कामा पार्ने दाबी गरिएको छ । निजी क्षेत्रबाट मन्डीहरू खुल्ने र परम्परागत मन्डीहरू विस्थापित हुन गई किसानहरू कर्पोरेट र ठूला कम्पनीहरूमाथि निर्भर रहनुपर्ने परिस्थिति सिर्जना हुने पनि विरोधीहरूको दाबी छ । 


प्रतिक्रिया