अफगानिस्तानमा भागदौड मच्चिदा १५ जनाको मृत्यु

कार्तिक ५, २०७७

भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिंदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जलालाबादमा रहेको पाकिस्तानी कन्सुलेट कार्यलय अगाडि जम्मा भएको भीडमा एक्कासि भागदौड मच्चिंदा ११ जना महिला सहित १५ जनाको मृत्यु भएको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए । भिसा आवेदनका लागि टोकन लिने क्रममा एक्कासि भागदौड मच्चिएको हो ।

औषधोपचार, शिक्षा र रोजगारीका लागि अफगानिस्तानबाट बर्सेनि हजारौंको संख्यामा पाकिस्तान जाने गर्छन् । पाकिस्तान र अफगानिस्ताबीच करिब २ हजार ६ सय किलोमिटर सीमा जोडिएको छ । धार्मिक उत्पीडन, द्वन्द्व र चरम आर्थिक संकटका कारण मुलुक छोडेका करिब ३० लाख अफगानीलाई पाकिस्तानले शरण दिएको छ । घटनाका बारेमा काबुलस्थित पाकिस्तानी राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।


प्रतिक्रिया