कोरोना विरुद्धको खोप प्राप्तिका लागि धैर्य गर्न सेरम इन्टिच्यूटको आग्रह

फाल्गुन ९, २०७७ | काठमाडौं

विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी भारतको पूणेस्थित सेरम इन्टिच्यूट (एसआइआइ) ले अन्तर्राष्ट्रिय समुदायलाई खोप प्राप्तिका लागि थप केही समय धैर्य गर्न आग्रह गरेको छ । हाल उत्पादित कोभिड–१९ विरुद्धको खोप भारतको आन्तरिक मागलाई सम्बोधन गर्ने हिसावले मात्रै उत्पादन गरिएकोले अन्तर्राष्ट्रिय समुदायले खोपको सहज र सरल प्राप्तिका लागि केही समय अझै धैर्य गर्नुपर्ने जनाएको हो । 

एसआईआईका प्रमुख कार्यकारी अदार पूनावालाले ट्वीटमार्फत भन्नुभएको छ, “ म विनम्रतापूर्वक आग्रह गर्दछु कि केही समय थप धैर्य गर्नुहोस्, भारतको आवश्यकतालाई प्राथमिकता राख्दै बाँकी विश्वको आवश्यकतालाई पनि सन्तुलन गर्न हामी सक्दो कोसिस गरिरहेका छौँ ।” एसआईआईले बेलायतको अक्सफोर्डको एष्ट्राजेनेकासँग मिलेर संयुक्त रुपमा कोभिशिल्ड खोप उत्पादन गरिरहेको छ ।

 पहिलो चरणमा भारतले ३० करोड जनसंख्यालाई खोप लगाउने जनाएको छ । जनवरीको मध्य यता भारतमा १ करोड १० लाख बढीले खोप लगाइसकेका छन् । नेपालसहित ब्राजिल बंगलादेश लगायतका मुलुकहरु भारतको खोपमा निर्भरप्राय छन् । अन्य कम र मध्यम आय भएका मुलुकले पनि भारतबाट खोप प्राप्त हुने अपेक्षा गरेका छन् । तर खोपको उत्पादनको तुलनामा माग बढ्दै गएपछि कम्पनीले केही समय थप प्रतिक्षा गर्न आग्रह गरेको हो । 


प्रतिक्रिया