म्यानमारमा सैनिक 'कु'पछि ४६ बालबालिकासहित ५ सय ५० प्रदर्शनकारी मारिए

चैत्र २१, २०७७ | काठमाडौं

सैन्य–कू पछिको प्रदर्शनमा सेनाले जारी राखेको हिंसात्मक दमनका बीच पछिल्लो दुई महिनायता म्यानमारमा ५ सय ५० जनाको मृत्यु भएको छ । गत फेब्रुअरी १ मा सेनाले शासन–सत्ता हातमा लिएपछि भएको विरोध प्रदर्शनका क्रममा ४६ बढी बालबालिकासहित ५ सय ५० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

प्रदर्शनका क्रममा सेनाको गोली लागेर आज एकैदिन थप ५ जनाको ज्यान गएको छ । सुरक्षाकर्मीको गोली लागेर आज मोनीवा शहरमा तीनजना तथा बागो र थातोनमा एक–एक जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ ।

गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली गरेको तथा सरकारले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै म्यानमारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको थियो । सो चुनावमा एनएलडीले करिब ८० प्रतिशत मत ल्याएको थियो । सत्ता कब्जासँगै एनएलडी प्रमुख सुचीलाई पनि सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो । एनएलडीका नेताहरू, पत्रकार, मानवअधिकारकर्मी समेतलाई पक्राउ गरिएको छ । 

त्यसयता जननिर्वाचित सरकारको पुनर्बहाली र पक्राउ परेकाहरूको रिहाइको माग गर्दै म्यानमारभर लगातार प्रदर्शन भइरहेको छ । प्रदर्शनहरूमा सैनिक बल प्रयोग र दमनसमेत निरन्तर छ । यसअघि हिजैबाट सैनिक सरकारले मुलकभर ताररहित (वायरलेस) इन्टरनेट सेवा बन्द गरिदिएको छ । सामाजिक सञ्जाल तथा इन्टरनेटको पहुँचले प्रदर्शनकारीलाई आन्दोलनलाई उग्र बनाएको भन्दै यातायात तथा सञ्चार मन्त्रालयले गत बिहीबार नै स्थानीय वितरकहरूलाई सेवा बन्द गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया