भारतको गाउँ –गाउँ छिर्‍यो कोरोना

वैशाख २३, २०७८ | काठमाडौं

भारतमा उच्च बनेको कोभिड १९ संक्रमण गाउँ गाउँमा पुगेको छ । कोभिड १९ का कारण थिलथिलो बनेको भारतका मुख्य शहर र केही राज्यमा संक्रमण उच्च बनेसंगै ग्रामीण क्षेत्रमा समेत यसको प्रभाव परेको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । उत्तर प्रदेशको केही गाउँमा मानिसहरु ज्वरो तथा खोकीका कारण थलिएपछि घरमै त्रासपूर्ण बनेर बसिरहेका छन् । 

उनीहरुमा देखिएको लक्षण कोरोना संक्रमणकै भएपनि मौसमी फ्लु भन्दै उनीहरु घरमै बसेका छन् । सो क्षेत्रमा २ करोड मानिसको बसोबास रहेको छ । त्यस्तै, गोवा राज्यमा पनि संक्रमणले भयावह रुप लिएको छ । पर्यटकीय क्षेत्रको रुपमा परिचित गोवामा प्रत्येक २ जना मध्ये १ जनामा संक्रमण देखिएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या ३ हजार ९ सय ८० छ । तथापी, स्वास्थ्य विज्ञहरुले भने सरकारी तथ्याङको तुलनामा दैनिक १० गुणा बढीसम्म संक्रमित पुष्टी हुन सक्ने आंकलन गरेका छन् । हालसम्म संक्रमणकै कारण भारतमा २ लाख ३० हजार १ सय ६८ जनाले ज्यान गुमाएका छन् । हालसम्म २ करोड १० लाख जनामा संक्रमण पुष्टी भएको छ । गत साता विश्वभर पुष्टी भएका संक्रमित मध्ये आधा भारतमा रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ५० हजार छ । 


प्रतिक्रिया