कोभिड संक्रमणको हिसाबले अक्ल्याण्ड विश्वमै सुरक्षित शहर

जेष्ठ २७, २०७८ | काठमाडौं

कोभिड–१९ नियन्त्रण र व्यवस्थापन तथा बस्न योग्य दृष्टिकोणले न्यूजिल्याण्डको अक्ल्याण्ड शहर विश्वको पहिलो बनेको छ । कोरोना महामारीले पछिल्लो १ वर्षमा पारेको प्रभाव बारे विश्वका १ सय ४० शहरमा गरिएको अध्ययन अनुसन्धानका क्रममा अक्ल्याण्ड पहिलो नम्बरमा पर्न सफल भएको हो । 

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआइयू) ले गरेको अध्ययन प्रतिवेदनमा स्थायित्व, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँचलाई मुख्य आधार मानिएको थियो । विश्वका सबैजसो शहरलाई महामारीले प्रत्यक्ष प्रभाव पारेको अध्ययन प्रतिवेदनलाई उदधृत गर्दै बीबीसीले जनाएको छ । 

नागरिकको जीवन सहज हुने शहरको सूचीको दोस्रो नम्बरमा जापानको टोकियो, तेस्रोमा अस्ट्ेरलियाको एडिलेड र चौंथोमा न्यूजिल्याण्डकै विलिङटन परेको छ । स्वीजरल्याण्ड बाहेक युरोपका कुनै पनि देश र बेलायत शीर्ष दशमा पर्न सकेका छैनन् । सूचीको शीर्ष १० भित्र न्यूजिल्याण्ड, जापान अस्ट्ेरलिया, स्वीजरल्याण्डका शहरहरु नै परेका छन् ।

आईसल्याण्ड दशहरुले कोभिड–१९ विरुद्धको कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन, संक्रमणदर न्यून तथा प्रतिबन्धात्मक व्यवस्थाहरुलाई हटाएर जनजीवन सहज बनाएको प्रतिवेदनमा उल्लेख छ । कोभिड–१९ को असर र कम बस्न योग्य शहरको सूचीमा भने सिरियाको दमास्कस पहिलो नम्बरमा परेको छ । 

यस्तै, नाईजेरियाको लागोस् दोस्रो र पपुवान्यूगिनीको पोर्ट मोरेसबाई सूचीको तेस्रो नम्बरमा परेको छ । दक्षिण एसियामा कम बस्न योग्य शहरको सूचीमा बंगलादेशको ढाका चौथो र पाकिस्तानको कराँची ७ औं स्थानमा छन् । 


प्रतिक्रिया