स्वीडेनको नेटो सदस्यता अनुमोदन

माघ १०, २०८० | काठमाडौं

स्वीडेनलाई नेटोको सदस्यता दिने सम्बन्धी प्रस्ताव टर्कीको संसदले अनुमोदन गरेको छ । टर्कीको संसदले सो प्रस्ताव अनुमोदन गरेसँगै स्वीडेनको नेटो सदस्यताको बाटो खुला भएको छ । सन् २०२२ मा युक्रेनमाथि रुसले हस्तक्षेप गरेपछि स्वीडेनले सैन्य सहयोगको आवश्यकता पर्न सक्ने खतराको आंकलन गर्दै नेटो सदस्यताका लागि आवेदन दिएको थियो । स्वीडेनले कुर्दिस पृथकतावादीलाई सहयोग गरेको भन्दै रुष्ट टर्कीले उसको सदस्यताको प्रस्ताव रोकेका कारण अनुमोदन हुन सकेको थिएन ।

नेटोमा सबै सदस्य मुलुकले नयाँ सदस्यको नाम अनुमोदन गर्नुपर्ने प्रावधान अनुसार टर्कीले प्रक्रिया पूरा गरेको हो । अब हंगेरीले सो प्रस्ताव अनुमोदन गर्नुपर्नेछ । हंगेरी र स्वीडेनबीच जारी तनावका कारण पारित हुन नसकेको प्रस्तावका सन्दर्भमा वार्ता चलिरहेको बीबीसीले उल्लेख गरेको छ । स्वीडेनका प्रधानमन्त्री छलफलका लागि हंगेरीको राजधानी पुग्नुभएको छ । रुससँग सीमा जोडिएको स्वीडेन र फिनल्याण्डले हालै नेटो सदस्यताका लागि आवेदन दिएका हुन् । जसमा फिनल्याण्डको सदस्यता भने अनुमोदन भइसकेको छ । 


प्रतिक्रिया