जर्मनीमा चलिरहेको बैठकको कुराकानी रुसले ह्याक गर्यो

फाल्गुन २०, २०८० | काठमाडौं

युक्रेनलाई क्षेप्यास्त्र सहयोग गर्ने विषयमा जर्मनीमा चलिरहेको बैठकको कुराकानीलाई रुसले ह्याक गरेको छ । जर्मनीले यो स्पष्ट रुपमा ह्याकिङ भएको दाबी गरेको छ । बैठकमा जर्मन अधिकारीहरुले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र उपलब्ध गराउने र त्यसको सम्भावित लक्ष्यबारे छलफल गरिरहेका थिए । 

रुसको सरकारी आरटी च्यानलले जर्मनीमा चलिरहेको सो भिडियो कन्फ्रेन्स बैठकको अडियो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको छ । सो अडियोमा जर्मन अधिकारीहरुले केर्च पुल लक्षित मिसाइल आक्रमणको बारेमा छलफल गरिरहेको पाइएको बीबीसीले जनाएको छ । यो पुलले रुस र क्रिमियालाई जोड्छ ।

आफ्ना कट्टर दुश्मनले रुसमा आक्रमण गर्ने योजना बनाइरहेको यो अडियोबाटै पुष्टि भएको रुसी नेताहरुले बताएका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो अडियो लिक हुनु गम्भीर विषय भएको बताउनु भएको छ । यस विषयमा अनुसन्धान पूर्ण गहिराइ, गम्भीरता र तीब्रताका साथ भइरहेको पनि उहाँले बताउनुभयो । 

जर्मनीको ’डा स्पिगल म्यागजिन’का अनुसार यो भिडियो कन्फरेन्स जर्मन सेनाको गोप्य आन्तरिक नेटवर्कमा नभई वेब एक्स प्लेटफर्ममा भएको थियो । ३८ मिनेट लामो सो अडियोलाई आरटी च्यानललका प्रमुख मार्गारिटा सिमोन्यानले सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया