युक्रेन समर्थक वाइफाइ नामकरण गरेको आरोपमा रुसी विद्यार्थीलाई जेल सजाय

फाल्गुन २७, २०८० | काठमाडौं

रुसको राजधानी मस्कोको अदालतले त्यहाँका एक विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको छ ।

युक्रेनको समर्थनमा आफ्नो वाइफाइको नाम राखेको आरोपमा अदालतले ती विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको हो । 

मस्को स्टेट युनिभर्सिटीका ती विद्यार्थीले आफ्नो वाईफाई नेटवर्कको नाम ‘स्लावा युक्रेनी’ अर्थात ‘युक्रेनको जय होस’ राखेका कारण उनलाई सो सजाय दिइएको हो ।

मस्कोको अदालतले बिहीबार उनलाई चरमपन्थी संगठनको प्रतीक प्रदर्शन गरेकोमा दोषी ठहर गरेको बीबीसीले जनाएको छ । 

करीब दुई वर्षअघि रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि त्यसको आलोचना र युक्रेनलाई समर्थन गरेका कारण हजारौं मानिसलाई जेल वा जरिवानाको सजाय सुनाइएको छ । 

अदालतका अनुसार अधिकारीहरुले विश्वविद्यालयको छात्रावासमा रहेको ती विद्यार्थीको कोठाको निरीक्षण गरी उनको कम्प्युटर र वाइफाइ राउटर जफत गरेको छ ।

रुसी आक्रमण विरुद्ध युक्रेनी समर्थकले लगाउने गरेको ’स्लावा युक्रेनी’ नारा निकै चर्चित छ ।


प्रतिक्रिया