रुसमा भोलिबाट राष्ट्रपतीय चुनाव हुँदै

चैत्र १, २०८० | काठमाडौं

युक्रेनसँग युद्धका कारण तनाव चुलिएका बेला रुसमा भोलिबाट राष्ट्रपतीय चुनाव हुँदै छ । अमेरिका र उसका सहयोगी देशहरूसँग तनावग्रस्त सम्बन्ध रहेको समयमा हुन लागेको रुसको चुनावलाई निकै महत्वका साथ हेरिएको छ ।

भोलिदेखि तीन दिनसम्म हुने चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने राष्ट्रपति भाल्दिमिर पुटिनको निर्णयमाथि जनमतसंग्रहको रूपमा हेरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको गत महिना दुई वर्ष पुगिसकेको छ ।

यस अवधिमा रुसले नियन्त्रणमा लिएका युक्रेनी भूभाग दोनेत्स्क, लुहान्स्क, जापोरिजा र खेर्सनका बासिन्दाले समेत पहिलो पटक रुसी राष्ट्रपतिका लागि मतदान गर्दैछन् । चुनावमा रुसभित्रका ११ करोड २३ लाख र अतिक्रमित युक्रेनी क्षेत्रका १९ लाख मतदाताले मतदान गर्न पाउने बताइएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्ने प्रावधान छ । यो चुनावबाट पनि पुटिन नै राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिएको छ । पुटिनसँग प्रतिस्पर्धामा अन्य तीन जना उम्मेदवार छन् ।  


प्रतिक्रिया