गाजा क्षेत्रमा मानवीय सहायताका लागि तीन रुट खुल्ला

चैत्र २३, २०८० | काठमाडौं

गाजा क्षेत्रमा मानवीय सहायताका लागि इजरायलले ३ वटा रुट खुला गर्ने भएको छ ।

इजरायलल उत्तरी गाजाको इर्ज गेट, आसडोड पोर्ट र किरम सालोम क्षेत्र खुला गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा मानवताको रक्षाका लागि यथाशीघ्र पहल नगरे कडा कदम चाल्ने अमेरिकाको चेतावनीपछि इजरायलले ३ वटा रुट खुला गरेको जनाएको हो ।

गाजा क्षेत्रमा राहत सामग्री उपलब्ध गराउन खटिएका टोली गत सोमबार इजरायलको आक्रमणमा मारिएपछि अमेरिकाले दबाब बढाएको हो ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ताका क्रममा गाजा क्षेत्रका नागरिकलाई यथाशीघ्र मानवीय सहायताका लागि पहल गर्न चेतावनी दिनुभएको थियो ।

आफूले गरेको आग्रह इजरायले नमानेमा नीति परिवर्तन हुनेसम्मको चेतावनी अमेरिकाले दिएको थियो । 


प्रतिक्रिया