रुस–युक्रेन युद्ध रोक्न अमेरिका र रुसका अधिकारीबीच साउदीमा वार्ता गर्ने तयारी

फाल्गुन ४, २०८१ | काठमाडौं
रुस–युक्रेन युद्ध रोक्न अमेरिकी र रुसी अधिकारीले आगामी दिनमा साउदी अरेबियामा वार्ता गर्ने तयारी थालेका छन् । अमेरिकी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यामले सो तयारी भएको जनाएका छन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग जर्मनीमा भेटी साउदी अरेबियाको वार्तामा युक्रेनलाई संलग्न नगराएकोमा आपत्ति जनाउनुभएको थियो । उहाँका अनुसार रणनीतिक साझेदारसँग छलफल नगरी किभ रुससँग छलफलमा बस्ने छैन । वार्ताको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच युद्ध अन्त्य गर्न छलफल गराउनु भएको बताइएको छ ।
यसैबीच, युरोपेली नेताहरू आगामी साता युद्धको विषयलाई लिएर युक्रेनमा आपतकालीन शिखर सम्मेलनका लागि भेला हुने तयारीमा छन् । अमेरिकाले रुससँग युक्रेनविना नै शान्ति वार्ता गर्न लागेको भन्दै त्यसको प्रतिक्रिया स्वरुप युरोपले सम्मेलन गर्न लागेको बीबीसीले उल्लेख गरेको छ । युक्रेनका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतले युरोपेली नेताहरूसँग रुस–युक्रेन युद्धबारे परामर्श लिइने तर उनीहरुलाई सो वार्तामा संलग्न नगराइने बताएपछि युरोपको यस्तो प्रतिक्रिया आएको हो । बेलायती प्रधानमन्त्री केअर स्टार्मरले सैन्य रणनीतिक संगठन नेटोमा युरोपले ठूलो भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।