भारत सरकारविरुद्ध एक्सद्वारा मुद्दा दायर

चैत्र ८, २०८१ | काठमाडौं
अर्बपति एलन मस्कको कम्पनी माइक्रो ब्लगिङ साइट एक्सले भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अभिव्यक्ति स्वतन्त्रताविरूद्धका काम गर्न लगाएको भन्दै एक्सले मुद्दा दायर गरेको रोयटर्सले जनाएको छ ।
अर्बपति मस्कले भूउपग्रह इन्टरनेट सेवा स्टारलिंक र विद्युतीय सवारीसाधन टेस्ला कम्पनीको भारतमा बजार स्थापित गर्न खोजिरहँदा मोदी सरकारमाथि सेन्सरसिपसम्बन्धी उजुरी हालेको हो ।
मुद्दामा एक्सले सामग्री हटाउनेसम्बन्धी भारत सरकारको आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज हुनुपर्ने माग गरेको छ । सेन्सरसिपसम्बन्धी भारत सरकारको आदेश असंवैधानिक मात्र नभएर अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप समेत भएको कम्पनीका प्रवक्ताले बताएका छन् ।
यता भारत सरकारले भने राष्ट्रिय सुरक्षा र सार्वजनिक व्यवस्थामा असर परेको उल्लेख गर्दै सामग्री हटाउन आदेश दिएको जनाएको छ । सो निवेदनमाथि कर्नाटक उच्च अदालतमा मार्च २७ मा सुनुवाइ हुने भएको छ ।