ट्रम्पलाई युक्रेन भ्रमण गर्न राष्ट्रपति जेलेन्स्कीको आग्रह

वैशाख १, २०८२ | काठमाडौं
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको भ्रमणको निम्तो दिनुभएको छ । रुससँग युद्ध अन्त्य बारे गर्ने भनिएको सम्झौता पूर्व राष्ट्रपति जेलेन्स्कीले ट्रम्पलाई भ्रमणको निम्तो दिनुभएको हो ।
एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति जेलेन्सकीले आक्रमणका क्रममा रुसले बालबालिका, अस्पताल तथा निहत्था नागरिक माथि गरेको आक्रमणको जानकारीका लागि भएपनि युक्रेन भ्रमण गर्न आग्रह गर्नुभएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, ट्रम्पले जेलेन्स्कीको निमन्त्रणाबारे भने कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ । जेलेन्स्कीको सो निमन्त्रणा अगाडी भने रुसले युक्रेनमा आक्रमण गरेको थियो ।
रुसले सुमी शहरमा गरेको आक्रमणमा ३४ जनाको मृत्यु भएको थियो भने १ सय १७ घाइते भएका थिए । सो आक्रमणबारे रुसले सेनालाई लक्षित गर्दै आक्रमण गरेको जवाफ दिएपनि अमेरिकाले भने गम्भिर त्रुटि भएको प्रतिक्रिया दिएको छ । युक्रेनको प्रमुख सैन्य सहयोगीका रुपमा रहेको अमेरिकाले युद्धको अन्त्य गर्ने प्रयास गरिरहेको बेला रुसले सो आक्रमण गरेको हो ।