प्रतिरक्षा खर्च बढाउन नेटोका सदस्य राष्ट्रहरू सहमत

असार १०, २०८२
बढ्दो भूराजनीतिक तनावबीच प्रतिरक्षा खर्च बढाउने विषयमा उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का सदस्य राष्ट्रहरू सहमत भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज हुन लागेको नेटोको वार्षिक शिखर सम्मेलनमा राष्ट्र प्रमुखहरूले प्रतिरक्षा खर्च कुल गार्हस्थ उत्पादनको ५ प्रतिशसतसम्म बढाउने विषयमा प्रतिबद्धता जनाउनेछन् । नेटोका महासचिव मार्क रुटले सम्मेलनको पूर्वसन्ध्यामा सबै ३२ वटा सदस्य राष्ट्रलाई प्रतिरक्षा खर्च बढाउने विषयमा मनाउन खासै गाह्रो नभएको प्रतिकृया दिनुभएको थियो ।
द गार्जियनसँगको अन्तर्वार्तामा महासचिव रुटले युक्रेनमाथि रूसी आक्रमणका कारण धेरै कुराहरू दाउमा रहेको उल्लेख गर्दै नेटो सदस्यहरू रक्षा खर्च बढाउन सहमत भएको बताउनुभएको हो । यस योजनाअन्तर्गत नेटो सदस्यहरूले जीडीपीको ३ दशमलब ५ प्रतिशत रक्षा खर्चमा र थप १ दशमलब ५ प्रतिशत साइबर सुरक्षा, सैन्य वाहनका लागि सडक तथा पुल निर्माण र गुप्तचर लगायतका व्यापक सुरक्षासम्बन्धि लगानीमा छुट्याउने प्रतिबद्धता जनाउनेछन् । युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धनको यस वार्षिक शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती प्रधानमन्त्री केयर स्टारमर, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलगायत उपस्थित हुनुहुनेछ । सम्मेलन नेदरल्यान्ड्सको हेगमा हुँदैछ ।