हमास र इजरायलका अधिकारीबिच वार्ता

आश्विन २०, २०८२ | काठमाडौं

गाजामा युद्ध रोक्नको लागि इजरायलसँग वार्ता गर्न हमासका अधिकारीहरू इजिप्ट आइपुगेका छन् । हमास र इजरायलका अधिकारीबिच लामो समयको गतिरोधपछि आज शर्म अल–शेखको रेड सी रिसोर्टमा वार्ता हुँदैछ ।

इजरायली वार्ताकारको नेतृत्व रणनीतिक मामिला मन्त्री रोन डर्मरले गर्दै हुनुहुन्छ । हमास समूहको नेतृत्व निर्वासित गाजा प्रमुख खलील अल–हयाले गर्दै हुनुहुन्छ ।

गत महिना कतारको राजधानी दोहामा इजरायली आक्रमणबाट बचेपछि हयाको यो पहिलो इजिप्ट भ्रमण हो ।

इजरायली पक्षले वार्तामा हमासले इजरायली बन्धकलाई मुक्त गर्ने आशा गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करिब दुई वर्षदेखि जारी गाजा युद्ध समाप्त गर्ने योजनाको एक हिस्साको रुपमा लिइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पत्रकारलाई सम्बोधन गर्दै गाजामा रहेका ४८ जना बन्धकहरूको रिहाइको बारेमा बोल्दै २० जना जीवित रहेको बताउनुभएको थियो ।

यसअघि, राष्ट्रपति ट्रम्पले वार्ता तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको थियो ।

वार्तापछि पहिलो चरणमा प्यालेस्टाइनका कैदीको रिहाईको बदलामा इजरायली बन्धकको रिहाईको बारेमा रहेको बताइन्छ ।

यद्यपी, अमेरिकाको आग्रहका बाबजुद पनि इजरायलले गाजामा सैन्य आक्रमण भने जारी राखेको छ । 


प्रतिक्रिया