भेनेजुयलामा अमेरिकाको आक्रमणलाई लिएर व्यापक विरोध
पुस २०, २०८२ | काठमाडौं
अमेरिकाले भेनेजुयलामा आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई कब्जामा लिएको घटनाप्रति विभिन्न देशले चर्को विरोध जनाएका छन् । त्यस्तै, अमेरिकाभित्र समेत घटनाको चर्को आलोचना भइरहेको समाचारमा जनाइएको छ । सार्वभौम मुलुकका राष्ट्रपतिलाई गैरकानूनी रुपमा नियन्त्रणमा लिएको भन्दै ट्रम्प प्रशासनको विरोध भएको हो । चीनले मदुरोलाई तत्काल रिहा गर्न अमेरिकासँग आग्रह गरेको छ ।
बेइजिङले अमेरिकी कारबाही अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भएको समेत बताएको छ । चिनियाँ विदेश मन्त्रालयले मदुरो र उहाँकी पत्नीको व्यक्तिगत सुरक्षाको सुनिश्चित गर्न र भेनेजुयलाको सरकार ढाल्ने प्रयास रोक्न अमेरिकालाई आग्रह गरेको छ । उता, उत्तर कोरियाले भेनेजुयलामा गरिएको अमेरिकी कारबाहीलाई आधिपत्य जमाउने उद्देश्यले गरिएको गैरकानुनी कार्य भएको टिप्पणी गरेको छ ।
अमेरिकी कदम सम्प्रभुतामाथिको गम्भीर अतिक्रमण भएको उत्तर कोरियाको भनाइ छ । भेनेजुयलामा भएको आक्रमणलाई लिएर अमेरिकाका केही शहरमा विरोध प्रदर्शन समेत भएका छन् । यसैबीच, अमेरिकी पूर्व उपराष्ट्रपति एवं डेमोक्रेटिक पार्टीकी नेतृ कमला ह्यारिसले भेनेजुयलामा गरिएको आक्रमणलाई लिएर ट्रम्पको आलोचना गर्नुभएको छ । सो आक्रमण अवैध र अविवेकी रहेको भन्दै ह्यारिसले अमेरिकालाई पछिल्लो घटनाले सु्रक्षित र बलियो नबनाउने टिप्पणी समेत गर्नुभएको छ ।
ट्रम्पको कदमले क्षेत्रीय अस्थिरता बढाइरहेको ह्यारिसको आरोप छ । यसैबीच भेनेजुयलामा गरिएको आक्रमणबाट भएका क्षतिग्रस्त संरचनाको तस्बिर अमेरिकाले सार्वजनिक गरेको छ । सार्वजनिक भएका तस्बिरमा जलेका सवारीसाधन तथा गम्भीर रुपमा क्षतिग्रस्त संरचना देखाइएको छ । यसअघि ह्वाइट हाउसले राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएको भिडियो फुटेज पनि बाहिर ल्याएको थियो ।
यसैबीच भू–उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदायक कम्पनीले स्टारलिङ्कले भेनेजुयलाका नागरिकलाई आगामी एक महिनाका लागि निःशुल्क इन्टरनेट सुविधा दिने घोषणा गरेको छ । एलन मस्कको कम्पनीले ब्रड ब्यान्ड सेवा उपलब्ध गराउने भएको हो । यसैबीच अमेरिकाले क्यारिबियन क्षेत्रमाथि लगाइएको हवाई प्रतिबन्ध हटाएको छ । त्यहाँको संघीय उड्डयन प्रशासनले हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अन्त्य गरेको समाचारमा जनाइएको छ ।









