सम्पर्कबिहिन भएका पर्यटकको अवस्था अझै अज्ञात

माघ ४, २०७६ | . पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बीचमा हिमपहिरो खसेपछि सम्पर्कबिहिन भएका पर्यटकको अवस्था अझै अज्ञात छ ।

प्रसिद्ध पर्यटकीयस्थल अन्नपूर्ण आधारशिविर हिँडेका चार कोरियन र एक चिनियाँ पर्यटक हिजैबाट सम्पर्कबिहीन भएका थिए । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखा प्रमखु मीरा आचार्यका अनुसार अत्याधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नरहेको र हालसम्म सम्पर्क कायम हुन सकेको छैन ।

 यद्यपी खोजी तथा उद्धारका लागि प्राविधक टोली परिचालन गरिसकिएको आचार्यले जानकारी दिनुभयो । यद्यपी सम्पर्कविहीन विदेशी पर्यटक, नेपाली गाइड र पोर्टरको खोजीमा हेलिकोप्टर परिचालन गरिएको छ । स्थानीयले पनि पैदल हिडेर खोजीमा लागेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउरालीको बीचमा पर्ने हिङकु भन्ने स्थानमा आएको हिमपहिरोमा उनीहरु परेको आशंका छ । प्रहरीका अनुसार ५ कोरियन, एक चिनियाँ र २ नेपाली सम्पर्कविहीन छन । हिजो विहान ११ बजेतिर आएको हिमपहिरोपछि उनीहरु सम्पर्कविहीन भएका हुन ।

 पोखरा बिमानस्थलबाट सिम्रीक एयरको हेलिकोप्टर खोजी र उद्धारका लागि गएको हो । वडाध्यक्ष हिम गुरुङको नेतृत्वमा ५ सदस्यीय टोली अन्नपूर्ण आधार शिविर, माछापुच्छ्रे आधारशिविरलगायत स्थानमा गएको सिम्रिक एयर पोखराका इन्चार्ज कमल गौतमले बताउनुभयो । कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ११ जनाको टोलीमध्ये ५ कोरियन सम्पर्कमा आएका छन । समुहका अन्य ५ कोरियन र एक नेपाली गाइड भने सम्पर्कविहीन रहेको उहाँले बताउनुभयो ।

 यसैगरी अर्को समुहबाट एक चिनियाँ र एक नेपाली पनि सम्पर्कमा नभएको जानकारीमा आएको उहाँको भनाई छ । होटल बन्द गरेर हिमपहिरो गएको ठाउँमा गइरहेको स्थानीय देवकाजी गुरुङले बताउनुभयो । टेलिफोनमा उहाँले भन्नुभयो, ‘हिउँले हिड्नै गाह्रो छ । बाटो अप्ठेरो छ’ ‘हामीले सकेसम्मलाई उद्धार गरिरहेका छौ ।’  


प्रतिक्रिया