सरकार आफ्नै खुट्टामा बन्चरो हान्दैछ : नेपाली कांग्रेस

फाल्गुन ४, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै प्रतिवद्धता पूरा गर्न असफल भएको आरोप लगाएको छ । ५ वर्षका लागि गठन भएको वर्तमान सरकारले आफ्नो कार्यकालको ४० प्रतिशत समय गुजार्दा समेत जनअपेक्षा अनुसार काम गर्न नसकेको कांग्रेसको दाबी छ ।

 ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले सहज वातावारण र परिस्थितिको सही सदुपयोग गर्नुको साटो अधिनायकवाद उन्मुख आकांक्षाका कारण परिस्थिति प्रतिकूल बन्दै गएको टिप्पणी गरेको हो । 

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र लोकतन्त्रको संरक्षणमा सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्नुभयो । प्रवक्ता शर्माले भन्नुभयो, राष्ट्रिय एकता भएर पनि सीमा विवादबारे सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्न सकेन । कतिपय विधेयकलाई आधार मानेर विश्लेषण गर्दा वर्तमान सरकार क्रमश: अनुदार लोकतन्त्रको बाटोमा अग्रसर रहेको पुष्टि हुन्छ ।

सरकारको २ वर्षलाई अयोग्यता, असफलता र अधोगतिका रुपमा बिष्लेषण गर्दै कांग्रेसले संविधानले दिएको अधिकार खोस्न सरकार लागि परेको आरोप लगाएको छ । प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा अपनत्व विस्तारको प्रश्नलाई ‘वार्गेनिक चिप्स’ का रुपमा प्रयोग गरेर सरकारले मधेश केन्द्रित दललाई राजनीतिक गोटीको शिकार बनाएको उल्लेख छ ।

संघीयतालाई सवल बनाउने तर्फ भन्दा पनि सरकार, केन्द्रको ‘कमजोर शाखा’ का रुपमा प्रदेश सरकारहरुलाई सीमित गर्ने मनसायबाट ग्रसित रहेको कांग्रेसको ठहर छ । संघीयतालाई कमजोर बनाउन सरकार नियतबस लागिरहेको आरोप लगाउदै कांग्रेसले संघीयताको मर्म विपरीत प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण गर्दै सरकारले प्रदेशलाई अधिकार, बजेट र कर्मचारी प्रबन्धमा वेवास्था गरेको बताएको छ ।

पूँजिगत बजेट २० प्रतिशत भन्दा कम खर्च हुनुले विकासप्रति सरकारको धारणा प्रष्ट भएको बताउदै कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले दिनु भएको अभिव्यक्तिमा कुनै सत्यता नभएको दाबी गरेको छ । गोकर्ण रिसोर्ट, यति समुह, वाइड बडी लगायत कारण भ्रष्टचार नियन्त्रणमाथि सरकारको उद्धेश्य प्रष्ट भएको बताउदै उसले ललिता निवास जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमाथि पनि प्रश्न उठाएको छ ।

राष्ट्रियता, संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, समृद्धिको यात्रा लगायत साझा विषयमा नेपाली कांग्रेसले सरकारलाई खुला ढंगले साथ दिएको बताउदै प्रवक्ता शर्माले प्रमुख प्रतिपक्ष दलका रुपमा कांग्रेसको भूमिका सालिन र जिम्मेवारीपूर्ण रहेको दाबी गर्नुभयो । 


प्रतिक्रिया