एमसीसी सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्व तहमा सहमति

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७६ | काठमाण्डौं

– अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्वतहमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो । बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गर्नु भएको थियो । त्यसकै आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताउनुभयो । 

उहाँले भन्नुभयो – कार्यदलका संयोजकले अध्ययनलाई आधार मानेर त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो । त्यो सुनेपछि सचिवालयका सबै सदस्य एमसीसी जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं, । प्रतिवेदनमाथि थप अध्ययन गर्ने र अर्को बैठकबाट एमसीसीबारे निर्णय गर्ने सहमति जुटेको पनि उहाँले बताउनुभयो । बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठबाहेक सबै उपस्थित थिए । सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि सचिवालयको अर्को बैठक बस्ने छ ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले प्रतिवेदनको विषयबस्तुबारे सचिवालय बैठकमा ब्रिफिङ गरेको हो ।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो । सो कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो ।


प्रतिक्रिया