प्रधानमन्त्री ओलीद्वारा बाँस्कोटाको बचाउ

फाल्गुन १५, २०७६ | काठमाण्डौं

– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बार्गेनिङ गरेको अडियो बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको उहाँको दाबी थियो । नेकपाले काठमाडौंमा आयोजना गरेको वाग्मती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रममा नेकपामा अध्यक्ष समेत रहेका प्रधामन्त्री ओलीले भन्नुभयो, ’अनधिकृत मान्छेले ल्याएको टेप उचालियो, यसमा कुनै प्रमाण छैन ।’ स्वीस कम्पनीका एजेन्ट भनिएका ती व्यक्तिलाई स्वीस दूतावासले आफ्नो एजेन्ट होइन भनेर विज्ञप्ति समेत निकालेको ओलीले बताउनुभयो । यद्यपी अडियो प्रकरणमा बाँस्कोटा दोषी पाइए कारबाही हुने उहाँको भनाई थियो ।

कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहालले विवाद रहित कुनै पार्टी नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ’कम्युनिस्ट जमेको पोखरीको पानी जस्तो होइन । द्वन्द्वात्मक भौतिकवादी हुन्छ, यो गडगडाउने खोला जस्तो हो । यो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, एकमुख भएर हिडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर, सााच्चै विवाद रहीत भएको दिनदेखि पार्टी नै चाहिदैन ।’ कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म पार्टीभित्र विवाद, संघर्ष, भूमरी परिराख्ने भन्दै दाहालले ती परिस्थितिलाई पार्टीका नेताहरूले स्वीकार्नुपर्ने बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारको समीक्षा गर्नुपर्ने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, ’हाम्रो पार्टी र सरकारको कामबाट जनता खुसी छन् कि छैनन् भन्ने समीक्षा गर्ने बेला भएको छ, नेतृत्वले आलोचना सुन्न सक्नुपर्छ । नेताहरू आपसमा लड्नुपर्ने अवस्था छैन ।’ 


प्रतिक्रिया