विदेश जान नपाएकालाई सरकारले स्वदेशमै रोजगारी दिने
चैत्र ६, २०७६ | काठमाडौं
कोरोना संक्रमणका कारण बैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले स्वदेशमै रोजगार उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रबक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले इच्छुकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार उपलब्ध गराउने तयारी सरकारको रहेको बताउनुभयो ।
बैदेशिक रोजगारीमा परेको असरका कारण विप्रेषण आप्रवाह घटी मुलुकको अर्थतन्त्रमै असर गर्छ भन्ने भ्रममा नपर्न समेत मन्त्री खतिवडाले आग्रह गर्नुभयो । बैकिङ तरलता सहज भएकाले विप्रेषण आप्रवाह कम हुँदा मुद्रा र पूँजी बजारमा कठोर अवस्था श्रृजना नहुने उहाँको भनाई थियो ।
कोरोनाको सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री खतिवडाले पर्यटन व्यवसायलाई आर्थिक संकटमा पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत छ ।
व्यवसायीहरुलाई व्याज र आयकर छुट दिनेसम्बन्धमा छलफल भइरहेको उहाँले बताउनुभयो । नियमित आर्थिक क्रियाकलापहरु स्वभाविक रुपमा जारी रहेको भन्दै मन्त्री खतिवडाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
कच्चा पदार्थको आयात पनि साविक बमोजिम रहेकाले उद्योगहरुमा अभाव नहुने मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । चीनमा फैलिएको महामारीका कारण उत्तरी नाकामा केही सामानहरु रोकिएको भन्दै उहाँले क्वारेन्टाईनको व्यवस्था गरी ती सामान नेपाल ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसिया अब कोरोनाको संक्रमणको बढी जोखिममा रहेको बताएपछि शैक्षिक संस्था र परीक्षाहरु स्थगित गरिएको मन्त्री खतिवडाले स्पष्ट पार्नुभयो । शैक्षिक क्यालेण्डरमा कुनै परिवर्तन नहुने गरी सरकारले व्यवस्था मिलाउने उहाँको भनाई थियो ।
कोरोना संक्रमण नेपाल भित्रन नदिन सरकारले उच्च सतर्कता अपनाइरहेको मन्त्री खतिवडाको भनाई थियो । सरकारले केही महिनाअघिबाटै आवश्यक सावधानी अपनाएकाले हालसम्म मुलुकमा संक्रमण नदेखिएको भन्दै मन्त्री खतिवडाले सीमा नाकामा सुरक्षाजाँच कडा पारिएको दाबी गर्नुभयो । उहाँका अनुसार हाल १ सय ४१ बढी स्थानमा सुरक्षाजाँचको व्यवस्था गरिएको छ ।
सरकारी सञ्चारमाध्यमको उच्चतम प्रयोग गरी कोरोना संक्रमणबारे सचेतनाका लागि स्थानीय भाषामा सन्देशमुलक कार्यक्रम प्रसारण गर्ने प्रक्रिया अघि बढेको मन्त्री खतिवडाले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वासाधारणमा सामाग्री अभावको बढी सन्त्रास देखिएको भन्दै सबै सरोकारवाला पक्षसंग समन्वय गरेर सरकारले आपूर्ती नियमित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।