नेपाल हिँडेका चारसयभन्दा बढी नेपाली दिल्लीमै अलपत्र

चैत्र १०, २०७६ | नयाँ दिल्ली

कोरोना भाइरसको त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका छन् । उनीहरु भारतका बैंग्लोर, चण्डीगढ, सिमलालगायतका ठाउँमा काम गर्दै आएका थिए । कोरोनाको त्रास बढेपछि घर फर्कनका लागि दिल्ली आइपुगेका हुन् । 

तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुवाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि अहिले आइतबार देखि उनीहरु दिल्लीको स्थित आनन्द बिहार बसपार्कमा अलपत्र परेका हुन् । 

‘दिल्ली आएपछि मात्र बस बन्द छ भन्ने थाहा भयो, पुरै अलपत्र पऱ्यौ’ दार्चुला, दल्लेखका सन्तोष चुनाराले कान्तिपुरसँग भने । उनी बैंग्लोरमा होटलमा काम गर्थे । कोरोनाको त्रासले काम गर्ने होटल बन्द गएपछि घर जान हिँडेको उनले बताएँ । ‘सबै काम ठप्प भयो, कोरोनाको डर पनि थियो, अनि घर जान आएको’ चुनाराले भने ।

चुनारासहित चार सय भन्दा बढी नेपाली अहिले आनन्द बिहारमा बसपार्क क्षेत्रमा अलपत्र परेका हुन् । स्थानीय प्रहरीले एक ठाउँमा बस्न नदिएका कारण अहिले उनीहरुको अवस्था निकै ठिटलाग्दो छ । बसपार्क भित्र छिर्न नपाएपछि आफूहरु त्यतिकै सडक छेउमा बसिरहेको चुनाराले कान्तिपुरसँग भने । ‘जता गए पनि प्रहरीले लखेट्छ, कहाँ जाने के गर्ने भएको छ?’ उनले भने ।

त्यसैगरी थप पच्चिस जना दिल्लीकै छतरपुरमा अलपत्र परेका छन् । उनीहरु दक्षिण भारतीय शहर बैंग्लोरबाट नेपाल जानका लागि दिल्ली आइपुगेका हुन् । सार्वजनिक यातायात नचलेका कारण यिनीहरु पनि अलपत्र अवस्थामा छन् । उनीहरु न त साबिककै ठाउँमा फर्किन सक्छन् न त घर नै जान सक्छन् । त्यसमाथि दिल्ली सरकारले सोमबार देखि लक डाउन गर्दै धारा १४४ लागू गरेपछि उनीहरुलाई खाना र बस्नको समेत समस्या परेको छ ।

अलपत्र परेका नेपालीहरुले सुरक्षित रुपमा घर पठाउन सरकार समक्ष माग गरेका छन् । ‘अब यसरी सडकमा कति दिन बस्न सकिएला ? त्यसमाथि प्रहरीले सडकमै बस्न दिएको छैन त्यसैले सरकारले चाँडो केही कदम चालोस्’ चुनारले भने ।

दिल्ली प्रवासी नेपाली संगठनहरुले अलपत्र परेका नेपालीहरुको उद्धारका लागि पहल भइरहेको बताएका छन् । अखिल भारत नेपाल एकता मन्चका केन्द्रिय सचिव आरबी खड्काले उनीहरुलाई दिल्लीमै राख्ने वा नेपाल फर्काउने भन्ने सन्दर्भमा पनि दिल्लीस्थित नेपाली दूतावाससँग छलफल भइरहेको खड्काले बताए । ‘भारतका विभिन्न ठाउँबाट आएकाहरु छन् । अब दूतावाससँगको समन्वयमा उचित प्रबन्ध गर्ने प्रयास भइरहेको छ’ खड्काले भने ।

दिल्लीस्थित नेपाली दूतावासले पनि अलपत्र परेका नेपालीहरुका लागि तत्कालका लागि व्यवस्थापन गर्न पहल भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले नेपालको सिमा बन्द भएको र भारतकै पनि कतिपय जिल्लाहरु बन्द गरिएकाले अलपत्र परेका नेपालीहरुलाई दिल्लीमै राख्नका लागि प्रयास भइरहेको बताए । ‘सिमासँगै भारतकै कतिपय जिल्लाहरु पनि बन्द छन् त्यही भएर केही दिनका लागि दिल्लीमै राख्ने अस्थायी प्रबन्धका लागि छलफल र गृहकार्यमा छुटेका छौं’ रेग्मीले कान्तिपुरलाई जानकारी दिए ।

‘नाका बन्द भएको कुरा बीच बाटोमा थाहा भयो ’

हामीहरु सबैजना बैंग्लोरमा काम गथ्र्यौं । कोही सुपरमार्केटमा, कोही होटल र रेष्टुराँमा काम गर्थेम् । कोरोनाको त्रासले सबै बन्द भए पछि साहुले एक दुई महिना घर बसेर आउ भनेपछि हिडेका हौं । काम गर्ने ठाउँ बन्द भए पछि त्यहाँ बसेर खान पनि मुस्किल थियो । त्यही भएर बाध्य भएर हिड्यौं । कोरोना लाग्ने हो कि भन्ने डर पनि थियो । अनि ठूला पन्ध्रजना र साना नानानानी दश जना गरेर जम्मा २५ जना गएको बिहिबार साँझ सात बजे दक्षिण भारतको बैंग्लोरबाट हिडेका हौं । 

बैंग्लोरबाट हिडिँसकेपछि बिच बाटोमा मात्र नाका र सबैतिर बन्द भयो थाहा पायौं । आइतबार बिहान बिहान साढे दश बजे हामीहरुलाई रेलले दिल्लीमा उताऱ्यो । यहाँबाट बस चढेर पिथौरागढ हुँदै आफ्नो घर (दार्चुला) जाने योजना थियो । तर, अहिले यहाँबाट कुनै पनि बस चलेको छैन । बाहिर निस्कन पनि पाइँदैन । खानाको पनि समस्या छ । एकजना भारतीय साथीको दिल्लीकै छतरपुरस्थित डेरामा शरण लिएका छौं । ऊ पनि भोली आफ्नो घर जाने भनको छ । 

त्यसपछि हामीहरु सडकमा आउँछौं । अरुभन्दा पनि साना नानीहरुको चिन्ता लागेको छ । उनीहरु विरामी परे भने अस्पताल जान पनि नपाउने अवस्था छ । त्यो सम्झँदा पनि चिन्ता बढेर आउँछ । त्यही भएर हामीहरुलाई जसरी पनि घर पुग्नु छ । हामीहरु अलपत्र परेको कुरा दूतावासलाई पनि जानकारी गराएका छौं । हामीहरुलाई जसरी भए पनि नेपाल फर्काउन दूतावास र नेपाल सरकारलाई आग्रह गर्छौं ।

(दार्चुला, नवगाढ गाउँपालिकाका प्रकाश टमाटाले कान्तिपुरसँग फोनमा गरेको कुराकानी)


प्रतिक्रिया