आइसोलेसनमा रहेका एक युवकको मृत्यु, कोरोना परीक्षणको नतिजा आउन बाँकी

चैत्र ११, २०७६ | चितवन

कोरोना संक्रमणको आशंकामा चितवनको भरतपुरस्थित विशेष अस्थायी अस्पतालमा उपचाररत एक युवकको आज मृत्यु भएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट भने आईनसकेको चिकित्सकले बताएका छन् ।

मिर्गौला सम्बन्धि समस्या रहेका ३० बर्षीय ती युवकमा ज्वरो र नियोनिया पनि देखिएपछि सो अस्पतालको आइसोलेसन वार्डमा रहेर उपचार गराईरहेका थिए । कोरोना नियन्त्रण कार्यदल चितवनका सदस्य सचिव समेत रहेका सो अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीका अनुसार ती व्यक्तिमा कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न नमुना पठाएपनि नतिजा आइसकेको छैन ।

उहाँका अनुसार ती युवक लुपस नामक मृगौला, फोक्सो र छाला सम्बन्धि रोगबाट पहिल्यै देखि ग्रसित थिए । आइतबारबाट निमोनिया र ज्वरोको पनि समस्या देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिएको डा. अधिकारीले बताउनुभयो ।

अहिले ती युवकको शव आवश्यक सुरक्षाका साथ राखिएको भन्दै डा. अधिकारीले स्वास्थ्य परीक्षणको नतिजा आएपछि त्यही अनुसार व्यवस्थापन गरिने बताउनुभयो । 


प्रतिक्रिया