दोलखा लकडाउन डायरी

चैत्र २१, २०७६ | दोलखा

लकडाउनको पहिलो श्रृङ्खला सकिँदाका मितिसम्म दोलखालाई आरम छ । बिहानदेखि बेलुकीसम्म लाग्ने घामको न्यानो ताप्न पाएकाले कोभिड— १९ विरुद्धमा गरिएको नौ दिने लकडाउनलाई दोलखावासीले सहज कटाए । पूर्वतिर हेर्दा सेता हिमालहरु, त्यहाँमुनी हरिया जंगल र खोलाहरु, अलितल वस्तीहरु सुन्दर र सफा देखिन्छन् । शहर, बजारहरु सुनसान र शान्त छन् । 

वस्तीहरुमा दिनभरी छरिएका घामका किरणहरुले मानौं मानिसहरुले सित्तैमा प्रतिरोधात्मक क्षमता बढाइरहेको झै लाग्छ । आफूलाई केन्द्रमा राखेर जिल्लाको जुनसुकै भूगोलमा उभिएर नियाल्दा प्राप्त हुने स्वच्छ वातावरणको ऊर्जाले कोभिड—१९ अर्थात कोरोना भाइरसको त्रास भुलाइरहेको छ ।

हालसम्म दोलखा जिल्लाभित्रबाट स्वाब अर्थात र्‍यालजन्य पदार्थ परीक्षण गर्न पठाइएका पाँचै जनाको नतिजा नेगेटिभ अर्थात कोभिड—१९ संक्रमण पाइएन् । यसकारण दाबी गर्न सकिन्छ, दोलखाभित्र हालसम्म कोभिड—१९ अर्थात कोरोना भाइरसको प्रवेश छैन । थप आशा गर्न सकिन्छ, दोलखाभित्र सो भाइरसले यात्रा गर्न नपाओस् । किनकी, कोरोनाविरुद्धको जनसचेतनामा वृद्धि, स्व—सुरक्षा अवलम्वन र पूर्व तयारीमा तीब्रता आदि कारण ।

जिल्लाको सबैभन्दा ठूलो स्वास्थ्य केन्द्र चरिकोट अस्पतालले दैनिक जाँच केन्द्र बन्द गरेर आकस्मिक र ज्वरो क्लिनिक सेवा सञ्चालन गरिरहेको छ । सो अस्पतालमा दैनिक रुघाखोकी र ज्वरोका बिरामी बढेको तथ्याङ्क छ । गत वर्षको यही मौसमको तुलनामा हालका दिनहरुमा ज्वरोका बिरामी अधिक हैन । सो अस्प्तालका प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. रीना लम्सालका अनुसार आकस्मिक सेवा लिन आएकामध्ये दैनिक आठ/दश जना ज्वरोका बिरामी आउनु सामान्य हो । सामान्य बेलामा पनि यो अस्पतालमा दैनिक तीन सय ५० जना जचाँउन आउने गर्थे र त्यको ठूलो संख्या फ्लुका बिरामी हुन्थे ।

लकडाउन सुरु भएपछि सार्वजनिक नगर्ने तर, स्थिति के रहेछ भनेर बुझ्न अस्पतालले नमूना पठाएको थियो । तर सबै नतिजाहरु सकरात्मक आएकाले थप ढुक्कको स्थिति अस्पतालका कर्मचारी हुँदै आम दोलखाली जनताले अनुभूत गरिरहेका छन् । जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा दैनिक जचाँउन आएकामध्ये करीब तीन सयको हाराहारीमा रुघाखोकी र ज्वरोका बिरामीहरु हुन्छन । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा धेरै हैन ।

दोलखामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् । सबै पालिकाको ध्यान कोभिड–१९ लाई आफ्नो भौगोलिक पेरीफेरीभित्र छिर्न नदिने छ । विभिन्न तरिकाहरु अपनाएर कोरना भाइरसलाई ढोका बन्द गर्न स्थानीय तहहरु कृयाशील देखिन्छन ।

सरकारले लकडाउन सुरु गरेपछि देखि चैत्र १८ गतेसम्म दोलखामा २४ वटा आइसोलेसन कक्ष निर्माण भएको छ । कोरोनाका अशंकापछि उपचार गर्न बनाइएका आइसोलेसन कक्षहरु मापदण्ड विपरीत भएको चर्चा हुन थालेपछि केही गाउँपालिकाले केही आइसोलेसन कक्षलाई क्वारेन्टाइन कक्षमा झरेका छन् । क्वारेन्टाइनमा विदेशबाट आएका वा कोरोना संक्रमित हुने सम्भावना भएका व्यक्तिलाई राख्न तयार पारिएका हुन् ।

चैत्र १८ सम्म दोलखामा ३७ वटा कक्षको क्वारेन्टाइन बनेका छन् । गाउँपालिकाहरुमा निर्मित क्वोन्टाइनहरुमा हालसम्म कोही पनि बसाइएका छैन र बस्न मानिरहेका छैन । जिल्ला स्वास्थ्य कार्यालयको दैनिकी प्रतिवेदनहरुमा अनुसार पहिलो लकडाउन सकिएको दिनसम्म दोलखा जिल्लाभित्र २४ आइसोलेसन, ३७ क्वरेन्टाइन, १०० वटा स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई सेट, २२ वटा सुरक्षित ढंगले ज्वरो मापण गर्न नन् कन्ट्याक्ट थर्मल गण २२ वटा छन् ।

जिल्लाभरीको संयोजन गर्न दोलखास्थित जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको संयोजकत्वमा कोभिड—१९ जोखिम नियन्त्रण समन्वय समिति गठन भएर कार्य थालनी गरिएको छ । समितिले जिल्लाभित्रका स्थानीय तहहरु प्रमुखहरुसँग बैठक राखेर सबै स्थानीय तहमा कोभिड—१९ विरुद्धको अभियान हाक्न समन्वय गरिरहेको छ । सबै स्वास्थ्य इकाईका प्रमुखहरुलाई हालसम्मका कार्य र पूर्व तयारीका उपायहरुबारे बैठक बसेर योजना बनाएको छ । 

जिल्लास्थित सबै सञ्चारकर्मीहरुलाई कोभिड—१९ अर्थात कोरोना भाइरसबारेको समाचार प्रकाशन र प्रशारण सन्दर्भमा समन्वय गर्दै जवाफदेही र जिम्मेवार पत्रकारीताबारे छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको अध्यक्षतामा जिल्ला विपत व्यवस्थापन समितिको बैठक दिनहुँ जस्तो बसिरहेको छ । सेना, शसस्त्र, जनपद प्रहरीका प्रमुखहरु सहितको बैठकहरुले कोरोना भाइरस जोखिम हुनै नदिन विभिन्न योजनाहरु निर्माण गर्ने र कार्यन्वयन गरिरहेका छन् ।

नेपाली सेनाको तारादल गणले सदरमुकाम चरिकोटमा तत्कालै ४० जना अट्न सक्ने अस्थायी प्रकृतिका क्वारेन्टाइन बनाउन सक्ने तयारीमा बेसको जानकारी दिएको छ । आउन सक्ने मानवीय थप समस्याका बारेमा पनि योजना बनाइरहेको तारादल गणका निकिल कुँवरले बताउनुभयो । दोलखाको चार स्थान चरिकोट, जिरी, किर्ने र सिंगटीमा विशेष आइसोलेनको व्यवस्था गरिने कार्य सुरु भएको छ । चरिकोटपछि जिरी अस्पतालमा कोरोनाको शंका लागेमा स्वाब संकलनको व्यवस्था गरिएको छ । जिल्लाभित्र सेवा दिइरहेका २१ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्सका चालकहरुलाई जस्तोसुकै विपतको अवस्थामा पनि सक्रिय रहन निर्देशन गरिएको छ ।

विभिन्न उपायहरुको खोजी गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको बैठकले जिल्लाभरी घरघरै पुगेर जनताको ज्वरो मापण गर्ने निर्णय भएको छ । त्यसोगर्दा ज्वरोका बिरामीहरु स्वास्थ्यकर्मी आउन नपर्ने र थप संक्रमण फैलन रोकिने निष्कर्ष छ ।

खासगरी विदेशबाट आएका व्यक्ति, ज्वरो, रुघाकोकीका बिरामी भएको सूचनाका आधारमा स्वास्थ्यकर्मीहरु उपकरणसहित घरघर पुग्ने योजना बनाएको छ । उक्त उपायहरु लागू गर्न जनशक्तिको अपुग हुने सम्भावना छ । त्यसैगरी नछोइकन मानिसको तापक्रम निकाल्ने उपकरणको अभाव हुने स्वास्थ्यर्मीहरु वताउँछन् । पीपीई र थर्मल गन भएको खण्डमा घरघरैमै पुगेर ज्वरो मापण गर्न सकिए स्वास्थ्य संस्थामा सम्भावित संक्रमितको आगमण हुँदैन । उक्त उपायले ज्वरोसँगै कोरोना संक्रमित भएको आशंका लागे आइसोलेन र क्वारेन्टाइनमा राख्न वाध्य पार्न सकिने स्वास्थ्यकर्मीको धारणा छ ।

मेलुङ गाउँपालिकाले विदेशबाट आएकाको घरमा रातो झण्डा गाडेको छ । विदेशबाट आएकाको घरमा रातो भण्डा राख्नुको कारणबारे सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष नरबहादुर श्रेष्ठले विदेशबाट आएको घर पहिचान गर्ने पहिलो काम भएको बताउनु भएको छ ।

उक्त घरलाई झण्डा राखिएको मितिदेखि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनको रुपमा हेरिन अध्यक्ष श्रेष्ठले बताउनुभयो । विदेशबाट फर्किएका मानिसहरु स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्न इन्कार गरेपछि त्यस्तो उपाय अवलम्बन गरिएको हो । विदेशबाट आएकालाई सम्मानपूर्वक आफ्नै घरमा बसाइने छ । कतिपय स्थानहरुमा विदेशबाट फर्किएकालाई सामाजिक अपमान, भेदभाव र शंकाको ध्ययले हेरिने गलत परम्परा चलाइएको छ । घरमै राखेर राज्यले विदेशबाट आएकाहरुको स्वास्थ्य र अन्य समस्याहरुको ख्याल गर्न रातो झण्डा राखिएको मेलुङ गाउँपालिकाले जनाएको छ ।

वडा अध्यक्ष सहितको नेतृत्वमा हरेक दिन वाहिरबाट आएको व्यक्तिहरुको संख्या र हेरचाह गरिन थालिएको छ । चैत १८ गतेसम्मको तथ्याङ्कमा हरेक वडा र स्वास्थ्यकर्मीहरुको दैनिक एउटा कार्य बाहिरबाट आएको मानिसहरुको अवस्थाबारे रिर्पोटिङ हो । पहिलोपटका जारी लकडाउनका बेला दोलखामा हालसम्म २६१ जना विदेशबाट आएकाको विवरण छ । दैनिक फोन सम्पर्कबाट रिर्पोट लिनेदिने कार्यमा टोलटोलबाट सहयोग भैरहेको कालिञ्चोक गाउँपालिका स्वास्थ्य प्रमुख शुसील श्रेष्ठले बताउनुभयो । 

जिरी नगरपालिका, बैत्येश्वर, तामाकोसी, गौरीशंकर र मेलुङ गाउँपालिकाले दैनिक विदेशबाट आएका व्यक्तिहरुको विवरण जिल्ला स्वास्थ्य कार्यालयमा अध्यावधि समेत गरिरहेका छन् । २४३ जना भारतबाट फर्किएका छन् । दुवईबाट ७ जना, कतारबाट ३ जना र अन्य मुलुकबाट ८ जना फर्किएका छन् । भीमेश्वर नगरपालिका, विगु र शैलुङ गाउँपालिकाले भने विवरण पठाएको छैन । उक्त पालिकाहरुमा तथ्याङ संकलनको कार्य गर्दै रहेको आएको जनाएको छ ।

कतैकतै लकडाउन, विदेशबाट आएकाहरुको जानकारी र कोरोना भइरसबारे सचेतना कार्यक्रम लिएर गाउँगाउँमा माइकिङ र प्रचारको काम भईरहेको छ । बिगु गाउँपालिकाले सुरु गरेको यो अभियानले उक्त स्थानमा फैलाइएको धार्मिक अन्धविश्वासलाई समाप्त पार्न सघाउ पुर्‍याएको छ । उक्त पालिकाको केही स्थानहरुमा ‘दलाई लामाको विभूति खाँदा कोरोना नलाग्ने’ अफावह फैलाइएको थियो । एक स्थानीयका अनुसार माइकिङपछि उक्त अन्धविश्वासलाई मानिसहरुले विश्वास गर्न छाडेका छन् ।

भीमेश्वर नगरपालिकाले लकडाउनलाई अझ व्यवस्थित गर्न घरघरमै जनप्रतिनिधिहरुले अद्यन्न, मास्क, साबुन पुर्‍याइदिने भएको छ । अशक्त, जेष्ठ नागरिक र सुत्केरीलाई समस्या भए एम्बुलेन्स सेवा पनि नगरपालकाले उपलब्ध गराउने घोषणा गरेको छ । दोलखाका सहर र बजार क्षेत्रमा लकडाउन पालना भयो । सेना, शसस्त्र र जनपद प्रहरीको सक्रियता बजार इलाकाहरुमा थियो । मानिसहरुमा कोरोना भाइरसको खतराबारे जानकारीका कारण स्वस्फुर्त लकडाउनलाई स्वीकारेको पाइयो ।

ग्रामीण इलाकाहरुमा लकडाउनको खासै प्रभाव नपरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक जारी लकडाउनको सार्थकता बुझाउन निषेधज्ञा जारी गरेको छ । अत्यावश्यक अवस्था बाहेकमा हिँड्डुलमा प्रतिबन्ध लगाउँदै अवज्ञा भए कानून अनुसार कारबाही हुनसक्ने चैत १८ जारी सूचनामा भनिएको छ । ग्रामीण भेगमा बाहिरबाट फर्केका मानिसँग घुलमिल गर्दै खसी, कुखुराको मासुको भोज खाने, तास खेल्ने, मानिसहरु भेला भएर रमाइलो गर्ने क्रम बढेकाले नियन्त्रण गर्न निषेधको व्यवस्था गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । लकडाउनको दोस्रो श्रृङ्खला सुरु भएको छ । चैत १८ देखि २५ गतेसम्म दोलखा अझै न्यानो हुँदै जाने छ । बढ्दो तापक्रम र लगातारको आरमले मानिसहरु अझ फुर्तिलो र जुझारु हुने छन् । पहिलो अघिल्लो लकडाउन भन्दा पनि अझ बढी अनुशासित भएको खण्डमा कोरोनाको त्रास हराउँदै जाने विश्वास गर्न सकिन्छ ।


प्रतिक्रिया