वैकल्पिक राजनीतिमा नयाँ अध्यायः रास्वपा र विवेकशील साझाको एकता

मंसिर १५, २०८२ | काठमाडौं

आफूलाई वैकल्पिक शक्ति भन्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकीकरण भएको छ । मूलधारका अन्य दल जस्तै आन्तरिक विवाद, विभाजन र नेताहरुको दल त्यागको समस्या झेलेका रास्वपा र विवेकशील साझाबीच आसन्न निर्वाचनको तयारी भइरहेका बेला एकता भएको हो । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनमा एक सय भन्दा बढी दलबीच प्रतिस्पर्धा हुन लाग्दा वैकल्पिक शक्ति दावी गरेका दलले एकीकरणको बाटो रोजेका हुन् । रास्वपा र विवेकशील साझाबीचको एकता चुनाव केन्द्रित मात्र हुने हो की बलियो शक्ति बन्ने चाहना पनि पुरा हुने हो भन्ने जिज्ञासा पैदा भएका छन् ।

नेपालमा वैकल्पिक राजनीतिको पहल २०४८ सालपछि नै शुरु भएको मानिन्छ । लोकतान्त्रिक धारको नेतृत्व नेपाली कंग्रेस र कम्युनिष्ट धुव्रको नेतृत्व एमालेले गरिरहेको तत्कालिन अवस्थामा सामाजिक प्रजातन्त्रवादलाई सैद्धान्तिक र वैचारिक आधार मान्दै २०५० भदौ अन्तिम साता वैकल्पिक राजनीतिको नारा दिएर लोक दल स्थापना भएको थियो । वामपन्थी पृष्ठभूमिका कतिपय नेतालाई सामेल गर्दै डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा उक्त दल बनेको थियो । लगत्तै २०५१ सालको मध्यावधि निर्वाचनमा लोक दलबाट केही नेताले चुनाव लडे पनि जित हासिल गर्न भने सकेनन् । निर्वाचनमा सफलता हासिल हुन नसकेपछि केही बर्षभित्रै लोक दल छिन्नभिन्न हुन पुग्यो ।

यही पृष्ठभूमिमा २०७० सालमा वैकल्पिक शक्ति बन्ने चाहना राखेर विवेकशील नेपाली दल गठन भएको थियो । त्यसको ९ बर्षपछि मूलधारका दलहरुलाई टक्कर दिन कुनै बेला विवेकशीलमा रहेका केही नेतालाई समेत सहभागी गराएर रवि लामिछानेको नेतृत्वमा रास्वपा जन्मिएको थियो । २०७९ असार ९ गते स्थापित रास्वपा पहिलो पटकको सहभागितामै २०७९ को मंसिरमा सम्पन्न संसदीय चुनावबाट चौथो शक्ति बनेको थियो । यही दुवै दलले समय क्रममा ठूलै उतारचढाव बेहोरेका छन्, जून वास्तविकतालाई नेताहरुले लुकाएका छैनन् । विगतमा विवेकशीलबाट प्रदेश सांसद भएपनि पछि रास्वपा प्रवेश गरेर संघीय सांसद भएका नेता विराजभक्त श्रेष्ठले दुवै दलका लागि सहज अवस्था नभएको बताए ।

विगतलाई हेर्दा विवेकशील नेपाली राजनीतिका विकृति र विसंगतिमाथि प्रहार गर्दै सामाजिक अभियानको जगमा बनेको दल हो । पहिलो चुनावी प्रतिस्पर्धाको रुपमा विवेकशीलले २०७४ सालमा काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । विवेकशीलबाट काठमाडौं महानगरमा रञ्जु दर्शनाले २३ हजार भन्दा बढी मत ल्याएर चर्चा कमाएकी थिइन् । तर चुनाव उसका लागि फलदायी बन्न सकेन । यही अवस्थामा पत्रकारिता पृष्ठभूमिका रविन्द्र मिश्रले गठन गरेको साझा पार्टी र विवेकशील नेपाली दलबीच २७ पुस २०७५ मा एकता भएपनि त्यसले निरन्तरता पाउन सकेन । आन्तरिक विवादका कारण देखाउँदै संस्थापक नेता उज्ज्वल थापाले पछि रञ्जु दर्शना, विराजभक्त श्रेष्ठ, रमेश पौडेलसहित नयाँ दल दर्ता गरेका थिए । पछि मिलन पाण्डे नेतृत्वमा भएका बेला विवेकशील र मिश्र नेतृत्वको साझा पार्टीसँग २०७७ मंसिरमा एकीकरण गरियो । तर रविन्द्र मिश्रहरुले राजसंस्थाको वकालत गर्न थालेपछि विवेकशील छिन्नभिन्न भयो । पछि २०७९ मा समीक्षा बाँस्कोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै अघि बढेको विवेकशील साझा अहिले आएर रास्वपासँग मिल्न तयार भएको हो ।

स्थापनाको छोटो अवधिमा चुनाव लडेर प्रतिनिधिसभामा २१ सिट जितेर चौथो शक्ति बनेको रास्वपाले पनि त्यसपश्चात् निकै उतारचढाव सामना गरेको छ । सभापति रवि लामिछानेको नागरिकता र पासपोर्टको विवादसँगै सहकारी ठगीको आरोप लगायत कारणले रास्वपाको आन्तरिक जीवन निकै प्रभावित हुँदै आएको छ । केन्द्रिय नेता सुमना श्रेष्ठ र सन्तोष परियार तथा जिल्ला तहका कतिपय नेताले पार्टी परित्याग गरेको अवस्थामा रास्वपाले विवेकशील साझा पार्टीका अधिकांश नेतालाई भित्र्याएको हो । दुई पार्टीबीचको एकताबाट नेताहरु उत्साहित देखिएका छन् । नेतृ रञ्जु दर्शनाले पार्टी एकीकरण वैकल्पिक राजनीतिको निरन्तरता भएको बताइन् ।

दुई दलबीचको सहमति पत्रमा “रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्वल थापा एवम् विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने”उल्लेख छ । त्यस्तै, रास्वपाको राष्ट्रिय महाधिवेशनसम्मका लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्च मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेतालाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति भएको छ । नेताहरुका अनुसार सो मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्य सरह हुनेछ । विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने सहमति पनि भएको छ । पार्टीको नाम र चुनाव चिन्ह भने रास्वपाकै हुनेछ ।

आसन्न निर्वाचनको तयारी अघि बढिरहेका बेला दलहरुबीचको एकता र धुव्रिकरण गर्ने क्रममा वैकल्पिक शक्ति ठान्ने रास्वपा र विवेकशीलको एकतालाई कतिपयले आशावादी रुपमा हेरेका छन् । 


प्रतिक्रिया