नेपालमा थप २ जनामा संक्रमण
वैशाख १, २०७७ | काठमाडौं
नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा रौतहटका एक १९ वर्षीय युवक र कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
भारतको दिल्ली स्थित एक ब्याग बनाउने उद्योगमा काम गर्दै आएका रौतहटका ती यूवक १६ गते घर फर्केर १७ गतेबाट क्वारेन्टिनमा बसेका थिए । संक्रमित महिला भने वीरगञ्जमा चिया पसल गर्दै आएकोमा लकडाउन अघि कैलाली गएकी थिइन् ।
योसंगै संक्रमितको संख्या १४ पुगेको छ । जसमध्ये ५ जनाको सेती प्रादेशिक अस्पताल, ३ जनाको वीरगञ्ज तथा बाग्लुङ र काठमाडौंको टेकुमा २/२ जनाको उपाचार भइरहेको प्रबक्ता देवकोटाले जानकारी दिनुभयो । पहिलो पटक संक्रमण देखा परेका युवक भने निको भइसकेका छन् ।
हिजो मात्रै पर्साको वीरगंज महानगरपालिका–२, छपकैया स्थित मस्जिदमा रहेकामध्ये तीन जना पुरुषहरूलाई कोरोना पोजिटिभ देखिएको थियो । ती व्यक्तिसँग आएका २८ जनाको नमुना परीक्षण भएको प्रबक्ता देवकोटाले जानकारी दिनुभयो ।
नेपालमा हालसम्म ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आइसोलेसनमा मुलुकभर १ सय ३ जना छन् भने क्वारेन्टिनमा ७ हजार १ सय ६६ जना छन् ।