सुनसरीबाट मोटरसाइकलमा आएकी थिइन् संक्रमित महिला

वैशाख ३१, २०७७ | भक्तपुर

भक्तपुरमा देखिएका दुई जना कोभिड–१९ संक्रमितमध्ये २५ वर्षीया महिला सुनसरीबाट मोटरसाइकमा आएको खुलेको छ । बैशाख २९ गते मोटरसाइकलमा आएकी महिला ‘हेल्थ केयर स्टाफ’ भएको खुलेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

ती महिलालाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ । उनी सुनसरीबाट आएर मध्यपुर थिमि नगरपालिकामा साथीसंग बसेको पाइएकाले साथीलाई समेत निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको पाण्डेले बताउनुभयो । संक्रमित महिलाको बसोबास मध्यपुर थिमि नगर भनिएपनि एकीन ठेगाना भने खुलाईएको छैन । 

त्यस्तै, भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष चांगुनारायण दुवाकोटको रहेको खुलेको छ । तर, उनमा कसरी संक्रमण सर्यो भन्ने प्रष्ट नभएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताउनुभयो । दुवै संक्रमितको कन्ट्याक्ट ट्रेसिङको कार्य सुरु भएको र थप विवरण आउन बांकी रहेको उहाँले जानकारी दिनुभयो । 

हिजो भक्तपुरका दुई र काठमाडौंमा एक जना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।


प्रतिक्रिया