वीरगञ्जमा बृद्धाको मृत्यु कोराना बाटै : स्वास्थ्य मन्त्रालय
जेष्ठ १२, २०७७ | काठमाडौं
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जस्थित नेश्नल मेडिकल कलेजमा यही जेठ ४ गते मृत्यु भएका बारा कलैयाका ७० बर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उनको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टि भएपछि बारा करैयामाई गाउँपालिका–७ उम्जन गाउँ सिल गरेको छ । दाहसंस्कारमा ७० जना भन्दा बढी सहभागी थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले कोरोनाको रिपोर्ट आउनु अघि नै दाहसंस्कार गरिएकाले गाउँ वरिपरि तारवार गरेर सिल गरिएको जानकारी दिनुभयो । दाहसंस्कारमा सहभागी मलामी, मृतकका परिवारलगायतका गाउँलेलाई घरमै बस्न प्रहरीले आग्रह समेत गरेको छ ।
यस्तै, पछिल्लो पटक ७ जनामा कोभिड १९ पोजेटिभ देखिएसंगै आज एकै दिन ७९ जनामा संक्रमण पुष्टी भएको छ । योसंगै कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको प्रबक्ता डा. देवकोटाले जानकारी दिनुभयो ।
त्यसअघि बिहान मात्र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३७, धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बाँकेस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ र हेटौडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टी भएको थियो ।
यस्तै, नेपालगञ्जस्थित भेरी अस्पतालमा ५ र सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको थियो । तीमध्ये सबैभन्दा बढी रौतहटका १८ देखि ५३ बर्ष उमेर समुहका २६ जना पुरुष छन् ।
यस्तै, बाराका १८ देखि ५० बर्ष सम्मका गरी २३ जना, दैलेखका ६ पुरुष र १ महिला गरी ७ जना, बाँकेका ४ पुरुष, काठमाडौं टोखा र बुढानिलकण्ठका गरी ३ पुरुष, धनुषा र कपिलवस्तुका ३/३ तथा सप्तरीका २ र बर्दियाका १ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रबक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो । संक्रमितमध्ये १ सय १२ जना स्वास्थ्य लाभ पछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
काठमाण्डौमा परिक्षण गर्दा जेठ ५ गते संक्रमण पुष्टि भएका दाङ घोराही उपमहानगरपालिका ९ भगवारका ४४ बर्षीय पुरुषको एक सातापछि आज मात्रै ट्रेसिङ गर्न थालिएको छ । चैत १० गते घोराही गएर बिभिन्न सामाजिक काममा सहभागी भएर उनी एम्बुलेन्सबाट बैशाख ३१ गते काठमाण्डौ फर्केका थिए । भगवार गाउँ सिल गरेर ट्रेसिङ गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो ।