कोरोना संक्रमणलाई जितेर ३ सय ३३ जना घर फर्किए

जेष्ठ २३, २०७७ | काठमाडौं

– कोरोना संक्रमणलाई जितेर ३ सय ३३ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा ४३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको जानकारी दिनुभयो ।

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा सुनसरी, झापा मोरङ, अर्घाखाँची, नवलपरासी , पाल्पा, रुपन्देही, सिन्धुली, बारा, तनहुँ, भोजपुर, कैलाली, अछाम, बझाङ, डडेलधुरा, रामेछाप, काभ्रे, दैलेख, जुम्ला, हुम्ला, दोलखा, गोरखा, सुर्खेत, दाङ, धनुषा, गुल्मी, कपिलवस्तु, कास्की, महोत्तरी र रौतहटका गरी थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

मूलुकका ७७ मध्ये ६८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । प्रदेश एकका १२ जिल्लामा २ सय ४२, दुईका ८ जिल्लामा ९ सय ९३, बागमतीका १२ जिल्लामा ८५ ,गण्डकीका ९ जिल्लामा ५७, प्रदेश ५ का ११ जिल्लामा ९ सय ६५, कर्णाली प्रदेशका ७ जिल्लामा ४ सय ७९ र सूदुरपश्चिमका सबै ९ जिल्लामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुर्खेतमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

हालसम्म पीसीआर विधिबाट ८८ हजार ३ सय ६६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको स्वास्थ्य परीक्षण भएको छ भने अहिलेसम्मएक लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यस्तै आइसोलेशनमा २ हजार ५ सय ६८ जना रहेका छन् । 


प्रतिक्रिया