गण्डकी प्रदेशमा कोरोनाबाट पहिलो पटक एकजनाको मृत्यु

जेष्ठ २६, २०७७ | पोखरा

– गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । भाइरसको संक्रमणबाट ६० वर्षका एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले आज बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्याङजाको वालिङ नगरपालिकाका ती व्यक्तिमा हिजो कोरोना संक्रमण पुष्टी भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन वार्डमा राखेर शुरु गरिएको थियो । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित भएको पाइएको छ । ६ महिना अघि मात्रै उपचारका लागि भारतको मुम्बई गएर जेठ २१ मा नेपाल फर्किएका थिए । 

वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडका अनुसार सुनौली नाकामा अलपत्र परेको सूचना पाएपछि जेठ २१ को राती नै उनलाई उद्धार गरी घर ल्याइएको थियो । तर अवस्था नाजुक भएपछि उनलाई जेठ २२ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको प्रिआइसोलेशन वार्डमा राखेर स्वाब परीक्षण गर्दा हिजो ती पुरुषमा कोरोना संक्रमण देखिएको थियो । हालसम्म सबैभन्दा कम संक्रमित गण्डकीमा यो नै पहिलो मृत्यु हो ।

यसैबीच पोखरा महानगरको क्वारेन्टाइनमा रहेका पोखरा ९ का ४२ वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशन कक्षमा उपचारका लागि लैजाने तयारी गरिएको छ । प्रदेशमा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएकोमा ३ जना उपचारपछि घर फर्किएका छन् । 


प्रतिक्रिया