नेकपा विवाद समाधानका लागि दुई अध्यक्षबीच ३ घण्टा वार्ता

असार १९, २०७७ | काठमाडौं

सत्ता नेतृत्वकर्ता दल नेकपा भित्रको विवाद समाधानको पहलस्वरुप दुई अध्यक्षबीच आज भएको छलफल सकारात्मक बनेको छ । योसँगै गत १० गतेदेखिको नेकपा विवाद समाधान उन्मुख भएको नेताहरुले दाबी गरेका छन् । 

भारतको इशारामा आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागेको आरोप लगाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेपछि नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको थियो । 

अध्यक्ष ओली इतरका नेताहरुले प्रधानमन्त्रीबाट राजीनामा दिनु पर्ने माग गरेपछि स्थायी कमिटी बैठक भोलीसम्मलाई स्थगित गरेर दुई अध्यक्षले निकासका लागि आज वार्ता गरेका हुन् । वार्तामा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा समेत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच काठमाडौंको वालुवाटारास्थित सरकारी निवासमा आज भएको झण्डै ३ घण्टा लामो छलफलमा दुवै अध्यक्ष पार्टी एकीकरणको मर्म अनुसार मिलेर जान सकारात्मक देखिएका हुन् । 

बैठकमा सहभागी एक नेताका अनुसार, छलफलमा कुनै ठोस सहमति नभएपनि वार्ताको वातावरण बनेको छ । छलफलमा प्रधानमन्त्री ओलीले मंसिर पहिलो साताको सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अस्वीकार गर्दै अध्यक्ष दाहालले नयाँ सहमति आवश्यक रहेको बताउनु भएको थियो । 

भोलीको बैठकमा सहमतिका नयाँ प्रस्तावहरुमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । स्थायी कमिटी बैठक बस्नु अघि भोली थप छलफलका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई प्रस्ताव गर्नुभएको छ । 


प्रतिक्रिया