प्यूठान पुग्यो सलह

प्यूठान नगरपालिका क्षेत्रमा सलह पसेपछि सलह धपाउँदै स्थानीय किसान । तस्बिर:गिरुप्रसाद भण्डारी, प्यूठान ।  

असार २९, २०७७ | प्यूठान

पछिल्लो पटक हिजो नेपाल प्रवेश गरेको सलहको झुन्ड दाङ हुँदै प्यूठान पुगेको छ । हिजो साँझ सरुमारानी गाउँपालिका हुदै प्यूठानको माण्डबी गाउँपालिकाको रम्दी, चेरनेटा आसपास बास बसेको सलहको झुन्डले आज बिहानैबाट प्यूठान नगरपालिका क्षेत्रका मकैंबाली खान थालेको हो । 

किसानहरु खेतबारीमा पुगेर आगोको धुँवा निकाल्ने, थालटिन ठटाउने गर्न थालेका छन् । लाखौको संख्यामा रहेकाले भगाउन नसकिएको प्यूठान नगरपालिका २ का किसान गिरबहादुर धामीले बताउनुभयो । सलहले धान, मकै, तरकारीबालीमा क्षति पुर्‍याएको छ ।

झिमरुक नदी किनारै किनार सलह आएको धामीको भनाई छ । प्यूठान नगरपालिकाका १० वटै वडाहरुमा आज बिहानैदेखि सलहले नोक्सान गर्न थालेको मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।

प्यूठानमा ८/१० लाखको संख्यामा सलह प्रवेश गरेको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्यूठानका निमित्त प्रमुख शुमन खनालले सलहको सो भुण्डले धेरै नोक्सानी गर्ने आकलन गर्दै स्थानीय तहका कृषि शाखाहरुमा सर्तक हुन आग्रह गरिएको जानकारी दिनुभयो ।

एकसाता अघि पनि सलहले जिल्लाको सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिकामा मकै बालीमा क्षति पुर्‍याएको थियो । 


प्रतिक्रिया