लाप्चा बगरको ११ नं. पिलर गायब, कसले र कहिले खोज्ने !

आश्विन ६, २०७७ | हुम्ला

नेपाल र चीनको सिमाना लिमिको लाप्चा बगरमा रहेको ११ नम्बरको पिलर हराएको ५ वर्ष बितिसक्दा पनि अझै खोजी हुन सकेको छैन । हराएको पिलरको खोजी न चीनले गर्‍यो न त नेपालले नै । वर्षेनी ११ नम्बर पिलर खोजीको कुरा मात्र हुन्छ । तर, यसको कार्यान्वयन हुँदैन । अब यो हराइएको पिलर कसले र कहिले खोज्ने ? 

११ नम्बरको पिलर हराएको मौका छोपी लिमिको लाप्चामा नेपाली भूमि अतिक्रमण गरी चिनियाँ पक्षले भवन निर्माणको गरेको स्थानीयको दाबी छ । यसैको स्थलगत अध्ययनका लागि गएको नेपाली टोली बिना निष्कर्ष फर्किएको छ । चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको क्षेत्र चिनियाँ भूमि भएको दाबी गरेको छ । 

 नेपाली भूमि अतिक्रमण गरेर चिनियाँ पक्षले भवन निर्माण गरेको खबर आएलगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययनका लागि एक टोली सम्बन्धित स्थलमा पुगेको थियो । अनुगमन र वार्ताका लागि गएका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ । 

भवन निर्माण भएको स्थानमा पुगेको नेपाली टोलीलाई हाम्रो भूमिमा वार्ता गर्न मिल्दैन वार्ता गर्ने भए सिमानामा जाउ भनेर हप्काएको स्थलगत अध्ययन टोलीका सदस्य एवं नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सुनाउनुभयो । उहाँका अनुसार त्यो ठाउँबाट दायाँ एक घण्टाको दूरीमा रहेको १२ नम्बर पिल्लर हेर्ने हो भने भवन निर्माण गरेको भूमि हाम्रै हो । तर, चिनियाँ पक्षले भवन बनेको स्थलदेखि नेपालतर्फको एक किलोमिटर भूभाग हाम्रो हो भनेको छ ।

१२ नम्बरको पिल्लर हेर्ने हो भने चिनियाँ पक्षले निर्माण गरेका भवन नेपाली भूमितिर पर्दछ । तर, ११ नम्बरको पिल्लर भेटिएको छैन । ११ नम्बरको पिलर हराएकाले चिनियाँ पक्षले हाम्रो भूमि लिएको हो । त्यो ठाउँमा हामीले पहिला खर्क सार्ने गथ्र्यो अहिले त भिर्न दिंदैन नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङ्गले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब ११ नम्बरको पिलरको नेपाल सरकारले खोजी गर्नुपर्छ ।

त्यो पिल्लर कहाँ छ भनेर यकिन भएको छैन ।’ नाम्खा गाउँपालिका–६ लिमिको लालुङ्जोङमा रहेको स्थानमा चीनले आर्थिक वर्ष २०६९/०७० मा एक तले ३ कोठे भवन बनाएको थियो । नेपाली पक्षले नेपाली भूमिमा भवन निर्माण गरेको भन्दै विरोध गरेपछि उनीहरुले त्यो भवन अहिलेसम्म प्रयोग नगरेको नाम्खा–६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङ्गले जानकारी दिनुभयो ।

अनुगमन गर्न लाप्चा पुगेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको स्थान चीनकै भएको दाबी गरेको भएपनि उक्त भूमि नेपालकै भएको टोलीले बताएको छ । प्रजिअ सहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर लामाले हराएको भनिएको ११ नम्बर पिलर नभेट्दासम्म चीनको दाबी स्वीकार गर्न नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पिलर भेटिएमा कसैले ढाँट्न नमिल्ने भएको कारण पहिले दुबै देश मिलेर हराएको पिलर खोज्नु पर्छ । अनि मात्र कस्को हो यकिन हुन्छ ।’ लिमिका स्थानीयहरुका अनुसार चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै हो । शक्तिको आडमा चीनले नेपालको भूमि अतिक्रमण गरिरहेको उनीहरुले बताएका छन् ।

सोही क्षेत्रमा २०६६ सालमा लिमी–लाप्चा सडक निर्माण गर्दा नेपाली भूभाग भनेर आफू सो स्थानमा पाल हालेर बसेको स्मरण गर्दै अध्यक्ष लामाले अब राज्यले पिलर खोज्ने काम गर्नुपर्ने बताउनुभयो । चीनले भवन बनाएको स्थानमा प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोली अनुगमनका लागि गएको थियो । 


प्रतिक्रिया