नेकपा सचिवालय बैठकमा विवाद समाधान प्रमुख कार्यसूची

कार्तिक २८, २०७७ | काठमाडौं

करिब तीन साता लामो रस्साकस्सी पछि सत्तारुढ नेकपाले सचिवालय बैठक मार्फत विवाद समाधानको पहल थालेको छ । पार्टी भित्र उत्पन्न संकट समाधान गर्ने विषयलाई प्रमुख कार्यसूची बनाउँदै नेकपाको सचिवालय बैठक आज सुरु भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, पार्टीको आन्तरिक विवाद समाधानसँगै कर्णाली प्रदेश र प्रदेश २ मा विकसित घटनाक्रम, स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन, कोभिड–१९ नियन्त्रण र कोभिडका कारण उत्पन्न आर्थिक संकटका विषयमा पनि छलफल हुनेछ । 

काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल सहितका ५ जना नेताले बैठक आह्वानका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र र जवाफमा ओलीले दाहाललाई लेखेको पत्र सचिवालयका सबै सदस्यलाई हस्तान्तरण गरिएको थियो । दुबै पक्षलाई समेटेर अध्यक्ष दाहालले बैठकका लागि तयार पारेको एजेण्डासहितको प्रतिवेदन पनि आजको बैठकमा पेस भएको थियो । 

अध्यक्षद्धयको पत्र र आज तय भएका एजेन्डामाथि तयारी गरेर सचिवालय बैठक आगामी बुधबार दिउँसो १ बजे बस्ने श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया