नेपाल र गौतमलाई ओलीको आग्रह, 'दाहालको प्रतिवेदन फिर्ताका लागि पहल गरिदिनुस्'

कार्तिक ३०, २०७७ | काठमाडौं

पार्टीको सचिवालय बैठकमा एजेन्डा तय भएसँगै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा प्रभाव बढाउन भेटघाटलाई तिब्रता दिनुभएको छ । 

बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमलाई काठमाडौंको वालुवाटार बोलाएर आज प्रधानमन्त्री ओलीले पछिल्लो समय पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्दै आफू अप्ठेरो अवस्थामा पुगेकाले सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले बिहान उपाध्यक्ष गौतम र दिउँसो बरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको हो । 

ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको सचिवालय बैठकमा पेश गर्नुभएको प्रस्ताव फिर्ताका लागि पहल गर्न आग्रह गर्नुभएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिनुभयो ।जवाफमा गौतमले अध्यक्ष दाहालको प्रस्तावमाथि बैठकमा छलफल गरेर नै किनारा लगाउन सकिने बताउभएको थियो । 

यस्तै गौतमले प्रधानमन्त्री ओलीबाट नै नेताहरूप्रति अपमानजनक व्यवहार भएकाले पार्टीमा वैमनश्यताको बीजारोपण भएको भन्दै त्यस्ता कदम सच्याउन आवश्यक रहेको बताउनुभयो । अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले गौतमसँग सुझाव समेत माग्नुभएको थियो ।

उपाध्यक्ष गौतमले पार्टीका बैठकमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिनुभएको गौतमका प्रेस सहयोगी सुवेदीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यसअघि हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुभएको थियो । नेकपाले पार्टी भित्र उत्पन्न संकट समाधान गर्ने विषयलाई प्रमूख कार्यसूची बनाउँदै आगामी शुक्रबार सचिवालय बैठक बोलाएको छ । 

सचिवालयका ९ मध्ये ५ सदस्य आफु विरुद्ध भएपछि अनपेक्षित निर्णय आउन सक्ने आकलन सहित अध्यक्ष ओलीले लबिङ तिब्र पार्नुभएको हो ।


प्रतिक्रिया